७ दिनको म्याद थपेर सिद्धबाबा अस्पतालमै फिर्ता

  २० मंसिर २०७६, शुक्रबार १०:५४ मा प्रकाशित

इटहरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीबाट थप सात दिनको म्याद थपिएको छ । यसअघि, गएको मंगलबार उनलाई पहिलोपटक चार दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

अदालतले थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबाविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले यही मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीय’कक्षबाटै उनलाई पक्राउ गरेको थियो । म्याद थपपछि पनि उनी अस्पतालमै रहँदै आएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमा उपचाररत् छन् । त्यहीँबाट उनलाई एम्बुलेन्समा राखी अदालत लगिएको थियो । सात दिनको म्याद थपपछि पनि विराट नर्सिङहोम नै लगिएको छ । उनको अस्पतालमै बयान हुने जनाइएको छ ।

पक्राउ पर्नुअघिदेखि नै उनी विराटनगरस्थित विराट नर्सिङहोममा उपचार गराइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया