१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोहलपुरमा कर्फ्यू जारी, घाइते छात्रालाई काठमाडौं ल्यायो

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७६, आईतवार ०९:४०

काठमाडौं । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ। केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान करिब साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो।

घटनापछि आक्रोशित भएका विद्यार्थी तथा स्थानीयवासिन्दाले ट्रकमा आगो लगाईदिएका छन्। ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। आन्दोलनका कारण अहिले पनि कोहलपुरको अवस्था तनावग्रस्त रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। घटनापछि नेपालगन्ज–कोहलपुर सडक खण्डमा यातायात सेवा बन्द भएको छ । उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।