यथार्थ धरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह ‘विन्दुहरू’

  २२ मंसिर २०७६, आईतवार ०९:४३ मा प्रकाशित

कवयित्री विन्दु अधिकारी ढकालको कविता संग्रह ‘विन्दुहरू’ प्रकाशनमा आएको छ । कवयित्रीको पहिलो संस्करणको रुपमा आएको यो कविता संग्रहमा यथार्थ धरातलको अन्तस्करणमा उभिएर नेपाली घर आँगन, समाज, धर्म संस्कृति र प्रकृतिको चित्रण गरिएको छ । कविताका विषय वस्तुमा आफ्नै जीवन र जगतबाट टिपिएको छन् । पहाडी झरनाबाट बगेको स्वच्छ जलजस्तै निष्कलङ्क र निर्दोष लाग्छन्, कवयित्रीका सिर्जनाहरू ।
बाबुको संघर्षमय जीवन र उनले हासिल गरेका उपलब्धीलाई कवयित्रीले कवितामा खरो रुपमा उतारेकी छिन् । कविता पितृशक्तिमा समर्पित छ । मात्रृशक्तिलाई गौण बनाइएको छ । आफ्नै घर, आँगन, पाखा, पखेरा, जीवनको उकाली ओराली, दुःख, सुख, आसु रोदनले भरिपूर्ण छन् कविताका हरफहरू ।

स्मृतिका सम्झनाहरू समेटिएको कवितामा बुबाको देहवसान हुँदा आमाको स्तव्धता, हिमालजस्तो सेती बनेकी आमा र उनको जीवनमा आएको परिवर्तनले मर्महत भएको परिवार । असल अभिभावन गुमाउँदाको पीडाले कवयित्रीको मनलाई विभल्स बनाएको छ ।

बुबाको देहवसानदेखि बालाचतुदर्शीमा एक्लै सदबिज छर्दाका भावना समेतले कवितामा स्थान पाएको छ । बुबाको विछोडपछि विच्छिप्द बनेको अन्तर मनका भावना कवितामा समेटिएका छन्, आकाशलाई धर्तीले थाम्न नसकेको जस्तै ।

आफन्तको माया र स्नेह, नेपाली धर्म र संस्कृतिलाई कवितामा बुलन्द आवाजको रुपमा देखिन्छ । अप्टिजम भाइ, अक्सिजनको डोरीमा अडिएको बुबाको जीवन, आमाको त्याग र बलिदानले सजिएको सुन्दर र शान्त पारिवारिक यस्तै यस्तै । गाउँ बेसी भिरपाखा, खेतबारी, दाउरा घाँस, गाई गोरुदेखि लाली गुराँस, शीतल अलैंचीका कुरा समेत समेटिएका छन् कवितामा ।

कवयित्रीले कवितामा संग्रहित हरफहरू परिस्कृत नभएपनि विषय वस्तुको उठान अत्यन्त राम्रो छ । कवितामा भावनात्मक र सिर्जनशीलताको स्पष्ट झल्को छ । २०७२ को विनाशकारी भूकम्पले चिरिएर डगमगाएकोे धर्ती र प्राकृतिक विपद्ले त्रसित भएको मर्मस्पर्शीको चित्रण छ कवितामा । विशेषत नेपाली समाजबाट ओझेलमा पर्न आटेका वस्तुलाई उठाइएको छ । अभिभावकको माया, स्पर्शले गर्ने मार्गदर्शनको परिदृष्य कवितामा पढन पाइन्छ । अप्ठ्यारो दिदीबाट पाएको सहयोग र विदेशी उपहारसम्म कविता बनेका छनु ।

दोर्जे दाजुको हराएको मुस्कानले पीडा र दुःखदायी जीवनको आभाषको संकेत गरेको छ । फूलजस्तो गाउँ र विरानो बनेको मालाजस्तो समाज, तिहारको देउसी भैंलोमा घन्किएको मादल, दोर्जे दाजुले गुमाएका विजेता, पहाड कन्दरा बिउँताउने हाँसो, साथीसङ्गी साथ र माया सबै ताजा रुपमा प्रस्तुत भएका छन् ।

कवितामा कविताका पङ्तीहरू चट्टानजस्तै बलियो निर्भिक छन् । सगरमाथा जस्तै उच्च र गहन छन् । बदलिएको जीवन शैली, साँगुरिदै गएको नेपाली मन, नेपाली धर्म र संस्कृतिलाई कविताले उज्याल्याएको छ । कविता पढ्दा दुई कविको कथा र व्यथा सुनाएजस्तो काव्यात्मक वार्ता भएको अनुभूती हुन्छ ।

एक सय २४ पृष्ठमा छरिएका कवयित्रीका कविताका पङ्तीहरूमा संमवेदनाहरूको सागर छ । पीडा र वेदनाका पहाड छन् । माया र प्रेमको आवेग छ । हुलाकी दाइ, म बुढी सधैं तरुनी, म जे छु ठिकै छु, मात्र सपना, सबै मिथ्या, सम्बन्धजस्ता शीर्षकले कवितालाई अझ ज्वलन्त बनाएको छ । समग्रमा कविता आफू बाँचेको समाजको सुन्दर मानव मनको कलात्कम जीवन र अभिव्यक्ति हो ।

४९ वटा कविता संग्रहित रहेको पुस्तक झट्ट हेर्दा औसत साइज र आकर्षक आवरणमा छ । कवितामा वंशाणुगत गुण छ । कविताको विषय वस्तु विस्तारित अनन्त छ । कवयित्री स्वर्गीय अक्सिजन कवि बालकृष्ण अधिकारी ‘धनकुटे’ की छोरी हुन् र उनले उक्त संस्करण आफ्नै पिताको नाममा समर्पण गरेकी छिन् । यो संग्रह एउटा सर्जकले अर्को सर्जकमाथि समर्पित गरिएको छ । यसले अझ संग्रहमा सुन्दरता र गहनता थपेको छ ।
– सुरेश कोइराला

प्रतिक्रिया