१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल भ्रमण वर्ष मनाउन एनआरएनए यूकेद्धारा उच्चस्तरिय समिति गठन, प्रवक्ता र सदस्यहरु मनोनित


२२ मंसिर २०७६, आईतवार २३:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल भ्रमण वर्ष २०२० मनाउन एक उच्चस्तरिय समितिको गठन गरेको छ । संघको आइतबार अल्डरसटमा बसेको कार्यसमिति बैठकले अध्यक्ष पुनम गुरुङ्गको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिलाई पूर्णता दिने सबै अधिकार संयोजकलाई दिइएको छ ।

बैठकले कार्यसमितिमा ५ जना सदस्यहरु मनोनित गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार मनोनित सदस्यमा ह्यारी गुरुङ, हेम गुरुङ, डा मिन रानाभाट, धनबहादुर सार्की र रामकुमार गुरुङ चयन भएका छन् । मनोनित नयाँ सदस्य रामकुमार गुरुङलाई संघको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

बैठकले बिभिन्न विभागहरुको समेत जिम्मेवारी तोकेको छ । बैठकले उपाध्यक्ष प्रेम गाहालाई गोर्खा, उपाध्यक्ष सुनिलबाबु खड्कालाई च्यारिटी , उपाध्यक्ष रोजिना प्रधानलाई संघसंस्था समन्वय, उपाध्यक्ष नारायण कँडेललाई कानुनी परामर्श तथा विधान र उपाध्यक्ष मोहन कार्कीलाई नागरिकता निरन्तरता विभागको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा उपाध्यक्ष प्रेम गाहा, महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड परिषदका अध्यक्ष दिपक श्रेष्ठ, स्कटल्याण्डका अध्यक्ष छविलाल अर्याल, वेल्सका अध्यक्ष कृष्ण भण्डारी र नर्दन आयरल्याण्डका अध्यक्ष नारायण कुँवर समेत रहेको सदस्यता व्यवस्थापन तथा शुद्धिकरण विभाग गठन गरिएको छ ।

त्यसैगरी महासचिव फडिन्द्र भट्टराईलाई भाषा तथा साहित्य र सचिवहरु जित रानाभाटलाई बिजनेस, कोशलेश्वर ढकाललाई राज्य समन्वय र रञ्जिता मल्ललाई पर्यटन प्रबद्र्धन विभागको जिम्मा लगाइएकोे छ ।

कोषाध्यक्ष तेजेन्द्र रोका र सहकोषाध्यक्ष सकुन गुरुङले आर्थिक, युवा संयोजक नविन गुरुङले युवा र महिला संयोजक प्रसुना कंडेलले महिला विभागको जिम्मेवारी पाएका छन् । बैठकमा कँडेलले आगामी मार्च महिनामा मनाइने विश्व महिला दिवसको अवसरमा विषेश कार्यक्रमको आयोजना गरिने विषयमा आफ्ना धारणा राखेकी थिइन् । बैठकले कँडेलद्धारा प्रस्तुत प्रस्तावमा सर्वसम्मतले अनुमोदन गरेको थियो ।

बैठकले कार्यसमिति सदस्यहरु प्रकाश कंडेललाई सांस्कृतिक तथा खेलकुद, अमृता गिरी गजुरेललाई वृद्ध तथा अपांग कल्याण र डा सुनिल शाहलाई स्वास्थ्य परियोजना विभागको संयोजक बनाउने निर्णय गरेको छ ।

बैठकमा एनआरएन यूकेका सदस्यहरुको कार्ड वितरणको जिम्मा इंल्याण्ड राज्य परिषदले लिएको परिषदका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

बैठकले सल्लाहकार नियुक्तीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुनम गुरुङ्ग दिने सर्वसम्मत निर्णय गरेको छ । बैठकमा कार्यसमिति पदाधिकारी लगायत आइसीसी सदस्यहरुको समेत उपस्थिती थियो ।