१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सागमा आज १३ खेल हुँदै, दर्शकको ध्यान पोखरामा हुने महिला फुटबलमा

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार ०२:५८

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को आज ९ औं दिन १३ खेलको १९ स्वर्ण पदकको छिनोफानो हुँदैछ । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् । खेल दिउसो एक बजेपछि पोखरा रंगशालामा शुरु हुनेछ ।

नेपाल र भारतबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिने प्रयासमा हुनेछ ।

अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली आज मैदानमा उत्रिनेछ । जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो ।

भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तरराष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी भएको छ । महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ ।

कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् । बास्केटबलमा आज सेमिफाइनलको खेल हुँदैछ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल आज हुनेछ । बक्सिङमा आज ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ । सुटिङमा आज एउटा स्वर्ण पदकको छिनो फानो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्ल्स तर्फको स्वर्ण पदक भिडन्त हुँदछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।