April 2, 2020

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

  18th November 2016 मा प्रकाशित

काठमाडौं । आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ । व्यवस्थापिका–संसद्को बैठकपछि आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुङ्ग्याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत सांसदलाई आग्रह गरेको जानकारी दिनुभयो ।
महाभियोग प्रस्तावमाथिको छलफलमा हालसम्म ५१ सांसदले आफ्नो धारणा राखिसक्नुभएको तथा बाँकी ३० सांसदले बोल्न बाँकी छ । सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन् ।

प्रमुख विषयमा राजनीतिक दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा लगातार भइरहेका बैठकले समेत सहमतिको वातावरण तयार पारेको जिकिर गर्नुुभयो ।

प्रमुख दलको सहमतिबिना महाभियोग लगायत राष्ट्रिय कार्यसूची अगाडि बढ्न नसक्ने भएकाले त्यसमा ध्यान दिन आफूले आग्रह गरेको उहाँको कथन थियो । संविधान कार्यान्वयनसँग जोडिएका विधेयकलाई प्रमुखताका साथ अगाडि बढाउन आफूले बिहानको समयमा समितिको बैठक राख्न र अपराह्न मात्रै सदनको बैठक राख्ने गरी समय मिलाएको जानकारी दिनुभयो ।

“संविधान कार्यान्वयनसँग जोडिएका विधेयक र अन्य विधेयकलाई सँगै लैजानुपर्छ भन्ने सोचका साथ समय व्यवस्थापन गरिएकाले सहजता हुन्छ भन्ने मैले विश्वास गरेको छु” सभामुखले भन्नुभयो ।

प्रतिक्रिया