८ बैशाख २०८१, शनिबार
Follow Us

१३ औं साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार १५:४१

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८ दमशमलव १३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवारुंगी शर्मालाई पछि पारिन् । सागको इतिहासमा नेपालका लागि सर्वाधिक चार स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टको रेकर्ड बराबरी गर्न गौरिका सफल भएकी छिन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा अर्को स्वर्ण पदक जितेको छ । सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४९ पुगेको छ ।।

१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत बक्सिङको बेन्ताम अन्तर्गत नेपालले स्वर्ण हात पारेको छ । सातदोबाटोस्थित कराते हलमा आज भएको खेलमा ५४ केजी तौल अन्तर्गत नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन । गुरुङले भारतीय खेलाडी शिक्षालाई पराजित गरेर स्वर्ण जितेकी हुन । नेपालले २० बर्षपछि बक्सिङवाट स्वर्ण जितेको हो । महिला बक्सिङमा नेपालले स्वर्ण पदक जितेको यो पहिलो पटक हो । त्यस्तै बक्सिङमा नेपालका भुपेन्द्र थापाले पनि स्वर्ण पदक जितेका छन् ।

६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् । महिला ४८ केजीमा भने ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सीमित भइन । त्यस्तै ६० केजी तौल समूहमा संगिता सुनार रजत पदकमै सीमित भएकी छिन । संगिता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन ।