७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा आमचुनाव: ब्रेक्जिट मुद्दामा नेताबीच आरोप–प्रत्यारोप

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७६, सोमबार १९:१७

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन्। बेलायतमा संसदको आमचुनाव आउन ६ दिन मात्र बाँकी हुँदा आयोजित उक्त बहस निकै रोचक बनेको थियो। ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए।

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रूपमा चित्रण गर्ने कोशिस गरेका थिए। जोनसनको भनाइमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन, र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ।

त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराएका थिए। उनले प्रधानमन्त्री जोनसन बेलायतलाई हानि गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित भएको दाबी गरे। दुबै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्न समेत गरेका थिए। प्रधानमन्त्री जोनसनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाएका थिए।

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रूपमा चित्रण गर्ने कोशिस गरेका थिए ।
कोर्बिनले प्रत्युत्तरमा ‘नेतृत्वमा विफल हुनै लाग्दा आफू र आफ्नो दलमाथि जोनसनले अभद्र र अशिष्ट टिप्पणी’ गरेको बताए। गत वर्ष एक पत्रिकाको लेखमा जोनसनले बुर्का लगाएकी मुसलमान महिलालाई चित्रित गर्दै उनीहरू ‘पत्र मञ्जुषा’ भनी टिप्पणी गरको कोर्बिनको भनाइ थियो।

बीबीसीका पत्रकार निक रोबिन्सनले सञ्चालन गरेको उक्त कार्यक्रममा उनले बेलायती जनताबीच दुई अलोकप्रिय र अविश्वसनीय नेता छनौट गर्नुपर्ने ‘असम्भव विकल्प’ मात्र बाँकी रहेको बताएका थिए। बेलायतका दुई जना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गरेका छन्। कन्जरभेटिभ्स पार्टीबाट यसअघि प्रधानमन्त्री बनेका जोन मेजरले ब्रेक्जिटलाई ‘मेरो जीवनकालको सबैभन्दा नराम्रो विदेश नीति निर्णय’ भनेका छ, भने पूर्व लेबर नेता टोनी ब्लेयरले मतदाताहरूलाई एक ‘भयानक’ छनौट मात्र बाँकी रहेको बताए।

अर्को बिहीबार हुने चुनावअघि गरिएको पछिल्ला मत सर्वेक्षणहरूले जोनसनको दलले बढी स्थान जित्ने देखाएका छन्। कन्जरभेटिभ्स पार्टीले हाल अल्पसंख्यक सरकार सञ्चालन गरिरहेको थियो, र ब्रेक्जिट गतिरोध अन्त्य नभएका कारण जोनसनले डिसेम्बर १२ मा पुनः संसद्का लागि आमचुनावको मिति तोक्नु भएको हो। दुई वर्षअघि भएको चुनावले ब्रेक्जिट गतिरोध हटाउन सकेको थिएन।

विपक्षीको समेत सहमतिमा हुन लागेको यस चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा गरेका छन्। उनको भनाइमा कन्जरभेटिभ्सले बहुमत ल्यायो भने ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न संसद्मा प्रस्ताव लैजाने छ। बेलायतलाई आगामी जनवरी १ बाट युरोपेली संघबाट अलग गरिने पनि उनले बताए।

बहसमा जोनसनको भनाइप्रति असहमति जनाउँदै विपक्षी नेता कोर्बिनले आफू ब्रेक्जिट मामिलामा तटस्थ रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुनुपर्ने बताए। उनले नयाँ ब्रेक्जिट सम्झौताका लागि वार्ता गर्ने वचन दिएका छन्।

‘तपाईं ब्रेक्जिटमा अनिश्चितताको अन्त्य गर्न सक्नुहुन्न यदि तपाईंलाई थाहा छैन कि सम्झौता के हो, तपाईं के गर्न चहानुहुन्छ,’ जोनसनले भने, ‘तपाईं सम्झौता गर्न सक्नुहुन्न यदि तपाईं यसमा तटस्थ हुनुहुन्छ।’ जोनसनका विपक्षीहरूले उनका ब्रेक्जिट सम्बन्धी प्रतिबद्धताहरू पनि खोक्रा रहेको बताएका छन्, किनकि युरोपेली संघबाट बाहिरिँदा त्यसबाट महिनौं वा वर्षौंसम्म जटिल व्यापार सम्झौतामा बेलायत अल्झिनुपर्नेछ।

कोर्बिनको भनाइमा जोनसनको कार्यकालमा बेलायतका मित्र देशहरू घट्ने र अमेरिकासँगको व्यापार सम्झौताका लागि पनि वर्षौं भौंतारिनु पर्ने अवस्था सिर्जना हुनेछ। उनले उत्पादन र उद्योगमा सात वर्ष पूर्ण अनिश्चितता र निरन्तर रोजगारी गुम्ने स्थिति आउनेछ भने।

दुबै नेताले गत हप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गरेका थिए। प्रधानमन्त्री जोनसनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गरेका थिए। तर नेता कोर्बिनले जोनसनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरूमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गरे।

आरोप–प्रत्यारोप