August 4, 2020
9:10 PM | 1:55 AM

विश्वकै कान्छी प्रधानमन्त्रीको यस्तो कथा

  10/12/2019 मा प्रकाशित

हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएकी हुन् ।

उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टी चलाएकी थिइन् । गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ वर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउनेगरी चयन गरेको छ ।

कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्षका छन् ।

सोसल डेमोक्र्याटिक संसदीय समूहमा उनले ३७ वर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी हुन् । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याएका छन् । पार्टीभित्रको निर्वाचन आइतबार भएको थियो भने नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजिनामा दिएका हुन् । उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलका सांसदहरू पनि नयाँ गठबन्धनसमेतमा सँगै रहेका छन् । उनीहरूले नयाँ सरकार बनाउने बारेमा पनि छलफल गरिरहेका छन् । मारिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने पनि निर्णय भएको छ ।

गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाईन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो । गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकोले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था अनुसार मारिन प्रधानमन्त्री बन्न लागेकी हुन् । प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सवै पार्टीहरुलाई एकजुट हुन आह्वान गरेकी छिन् ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्तोले मरिनलाई प्रधानमन्त्रीका रूपमा मङ्गलबार नियुक्त गर्ने स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् । निवर्तमान प्रधानमन्त्री रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सञ्चार मन्त्री भएका थिए भने सन् २०१५ देखि उनले फिनल्याण्डको जनप्रतिनिधिकारूपमा संसदमा प्रतिनिधित्व गर्दै आएका छन् । उनले यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेका थिए ।

आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि भएकी थिइन् ।

प्रतिक्रिया