१५ चैत्र २०८०, बिहीबार
Follow Us

१३ औं सागको समापन आज, फुटबलको स्वर्णका लागि नेपाल र भुटान भिड्दै

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७६, मंगलवार ०४:३१

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ आज सकिदैछ । दशरथ रंगशालामा विशेष समारोहका विच सागको समापन हुन लागेको हो । समापन समारोह पनि उदघाटन जस्तै भब्य बनाउने सरकारको तयारी छ ।

समारोहमा १४ औं सागको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गरिनेछ । केही सांस्कृतिक कार्यक्रम पनि राखिएको छ । समापन समारोहमा पदक बिजेता खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने सरकारको तयारी छ ।

प्रतियोगिता सुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण सम्भव हुन सकेको थिएन ।

यसअघि सरकारले सागका स्वर्ण पदक विजेतालाई ५ लाख, रजतलाई ३ लाख र कास्यलाई २ लाख सहित सम्मान गर्दै आएको छ । यो पटक त्यो रकममा उल्लेख्यबृद्धि हुने बताइएको छ । सोमबारसम्म साग पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।

नेपालले ४९ स्वर्ण, ५४ रजत र ९२ काँस्य पदक जितेको छ । शिर्ष स्थानको भारतले १५९ स्वर्ण सहित २ सय ९४ पदक जितेको छ । त्यस्तै श्रीलंकाले ३९, पाकिस्तानले ३२, बंगलादेशले १९ र माल्दिभ्यसले एक स्वर्ण जितेका छन् ।

१३ औं साग अन्तर्गत पुरूष फुटबलको फाइनल खेलमा आज नेपालले भुटानको सामना गर्दैछ । फाइनल खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । सागको समापनमा फुटबलको फाईनल खेल खेलाउन लागिएको हो ।

साग फुटवलमा नेपाल पाँचौ पटक र भुटान पहिलोपटक पुगेका हुन् । छनोट चरणमा हराएकाले आज पनि भुटानलाई पाखा लगाउदै स्वर्ण पदक घरमै राख्ने योजनामा छ ।

छनोट चरणमा नेपाल वाहेक सवैलाई हराएको भुटानपनि पहिलोपटक उपाधि जित्ने दाउमा छ । सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पारेको छ ।