१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा गोली हानाहान, एक प्रहरीसहित ६ जनाको मृत्यु

sarusaru
२५ मंसिर २०७६, बुधबार ०५:४३

बीबीसी। अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक प्रहरीसहित ६ जनाको मृत्यु भएको छ। जर्सी शहरका मेयर स्टीभन फुलपका अनुसार अन्य दुई जना प्रहरी घाइते भएका छन्। जर्सीको ग्रीनविले इलाकामा दुवैतर्फबाट एक घण्टासम्म गोली हानाहान भएको थियो। जर्सी शहर हडसन नदीको अर्कोतर्फछ। हडसन नदीको एकतर्फ न्यूयोर्क शहर छ।

गोली कसले र किन चलाएको थियो भन्ने अहिलेसम्म खुल्न नसकेको बीबीसीले जनाएको छ। यद्यपी आतंकवादी आक्रमणकारीले आक्रमण गरेको हुन सक्ने बताइएको छ।
स्थानीय संचारमाध्यमका अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भएको थियो, जहाँ आक्रमणकारीले आफूलाई लुकाएर राखेका थिए।
मारिनेमा ३९ वर्षका प्रहरी जोसेफ सील्स छन्। उनी विगत १३ वर्षदेखि जर्सी शहर प्रहरीमा कार्यरत थिए।

जर्सी शहरका प्रहरी प्रमुख माइक केलीका अनुसार जोसेफले सडकबाट बन्दुक हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। केलीका अनुसार आक्रमण स्थानीय समयानुसार दिउँसो १२ बजेको आसपासमा भएको थियो।

मृत्यु हुने प्रहरी जोसेफ सील्सले दुई जना संदिग्धलाई पक्राउ गर्न कोशिश गरेका थिए। दुवै संदिग्धमध्ये एक ट्रकबाट भागे भने अर्को जना सुपरमार्केटमा लुकेका थिए। उनले सुपरमार्केटबाटै प्रहरीमाथि गोली चलाइरहेका थिए।

प्रहरीका अनुसार आक्रमणकारीसँग ठूलो संख्यामा राइफल र सयौं राउण्ड गोली थिए। अन्तिममा विशेष प्रहरी दस्ता बोलाएर संदिग्धलाई मारिएको छ। सुपरमार्केट भित्र तीन जना मारिएका छन्। सुपरमार्केटभित्र मारिएका तीनै जनाको मृत्यु आक्रमणकारीको गोलीबाट भएको प्रहरीले जनाएको छ।
डिसी नेपाल