७ बैशाख २०८१, शुक्रबार
Follow Us

चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ, बैंक ह्याकिङमा समेत संलग्नता

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७६, बुधबार ०८:५३

काठमाडौं । चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।

प्रहरीले असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको रकम लुटने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहका तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाको कनेक्सन कालेसँग देखिएको छ । उनीहरुले भाइबरलगायत सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै ठगेको पाइएको छ ।

१७ करोड बराबरको कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस्तै, पक्राउ परेकामध्ये एकजनाले काले भनिने पिटरलाई बैंक खाता नम्बर पठाएको देखिएको छ । प्रहरीले सो समूहले कृषि विकास बैंकजस्तै अन्य बैंकबाटसमेत रकम लुटेको हुनसक्ने आशंका गरेको छ ।

यसअघि असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको नाफाबाट करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकालेको आरोपमा १८ जना पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा त्यो योजनाका मुख्य योजनाकार ‘काले’ भनेर चिनिने अफ्रिकी मुलका पिटर रहेको खुलेको थियो ।

उनी भारतको मुम्बइमा बसेर नेपालमा एजेन्टमार्फत् ठगीमा संग्लन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । प्रहरीले इन्टरपोलसँगको समन्वयमा कालेको खोजी जारी राखेको छ । पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।