१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७६, बुधबार १३:०२

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले समूहगत स्वर्ण जित्नेलाई पनि जनही पाँच लाख रुपैयाँ दिने जनाउनुभएको छ । पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने बताइएको छ । त्यसोत, प्रधानमन्त्री ओलीले मंगलबार दशरथ रंगशालामा भएको १३ औँ सागको समापन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने बताउनुभएको थियो ।

साथै उहाँले सबै विजेता खेलाडीहरुलाई बधाईका लागि बालुवाटार आउन आग्रहसमेत गर्नुभएको थियो । १३ औं सागमा घरेलु मैदानमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांश्य पदक जितेको थियो ।