April 5, 2020

पितृको नाममा बंशको नाम १९० के.जि. को घण्टमा लेखेर पहिलो कीर्तिमान

  18th November 2016 मा प्रकाशित

– रामप्रसाद घिमिरे ।
रेडिङ, बेलायत ।

स्वर्ग भैसक्नु भएकी हाम्रीमाताले सपनामा मलाई एउटा इच्छाप्रकट गरेको कुराले बिपनामा म बिचल्लि भै एउटा बिचार जन्मियो । हामी बुईपाखिरीका घिमिरेहरुको बंशावलि एउटा बृहत धलौट घण्टमा लेखेर खोटाङ जिल्लाको पर्यटकिय स्थल हलेसी महादेव थानमा प्रतिस्थापन गरी युग युगको लागि बंशावलिको अनागत लिखित अभिलेख बनाउने इच्छा । एउटा सिङ्गो नेपालकै विशाल घण्ट निर्माण गरेर तीनसय जना भन्दा ज्यादा बाजे जि. बैजनाथ घिमिरेका सन्तानहरुको नाम लेखेर हामीले टेकेको धरती हलेसीमा प्रतिष्थापन गर्न सके यो नेपालकै लागि एउटा अभिलेख बन्ने छ ।

बाजे बैजनाथका सन्तानहरु बिश्वको सबै शक्तिशाली देशमा कार्यरत छन् । उनीहरुसँग समुन्वय स्थापना गर्न सकेको खण्डमा सुझाव प्राप्त हुन्छ र स्वइच्छाले केही डोनेशन समेत संकलन गर्न सकिनेछ । जि.बैजनाथ घिमिरेका सन्तानहरु आर्थिक र सामाजिक सेवामा कोही कमजोर छैनन् भन्नेकुरामा म बिश्वस्त थिएँ तव यो नौलो काम शिद्ध गर्न सम्भव छ भन्ने भै सबै दाजुभाई तथा भतिजाहरुसँग फोन र सामाजिक सञ्जालको माध्यायमबाट कार्ययोजना साथै इष्टिमेट बजेट तयार पारी प्रस्ताव र सुझाब प्रस्तुत भयो । अब सबै भाई भतिजहरुबाट प्रतिकृया, सल्लाह र सहमत धमाधम आउन थाल्यो । धेरैको प्रतिकृया थियो हलेसी महादेव थानमा पर पूर्वकालदेखि जीवन ब्यतित गर्दै आएका घिमिरेहरुको पहिचान र बंशको अभिलेख राख्न यो नयाँ र सरल तरिका हो या यो अधम सोचाई होइन । धेरैको सहमत थियो यो कार्य उत्तम हो जुन चै पहिल्यै गर्नुपथ्र्यो तव धेरैले आत्मैदेखि प्रेरित भै सोइच्छाले आर्थिक सहयोगको डाटा समेत पठाए त्यसबेला म सारै प्रोत्साहित भएँ । कसैले यतिसम्म भने यो कार्यको लागि म अत्यधिक आर्थिक सहयोग गर्न तयार छु तव म झन झन प्रफुल्ल हुँदै संयोजनलाई तिब्र बनाउन थालें ।

आखिर हिङ नभए पनि हिंङ राखेको टालो भनेझै बैजनाथका सबै सन्तानहरुबाट घण्ट निर्माण र त्यसमा नाम लेख्नको लागि आर्थिक सहयोगको अब बर्षा हुन सुरुभयो । यसै कामको लागि मेरो गत दशैंमा नेपाल आउने पक्कापक्कि भैसकेकोले समय निकट आईसकेको थियो तर घण्ट निर्माणको काम सजिलो थिएन । श्रावण महिनाको अन्त्यतिर यो विशाल घण्ट तयार गर्न कम्तिमा पनि अढाई महिना लाग्ने मंगलबजारका एक भाडा ब्याबसायीले बताए र निर्माणको जिम्मा लिन हिचकिचाए । उनको प्राबिधिक गुनासो थियो तीनसय जनाको नाम झण्डै २१००–२२०० वटा अक्षर हुन आउछ जुन चै घण्टमा लेख्न सम्भव छैन । उनको भनाई अनुसार यति धेरै अक्षर लेख्न घण्टको आकार झण्डै १.५ मि.को रेडियसन र १.६० मि.को भन्दा ठूलो उचाईको हुनुपर्ने र लगभग ७०० केजीको तौल हुने बताए जुन चै अत्यधिक ठूलो आकार हो । त्यस्को लागि ३५–४० कि.लो. मइन चाहिन्छ रे र भिन्नै ढलौटमा ढाल्ने अँगेनुको निर्माण गर्नुपर्छ रे तर उनीसँग यति ठूलो आकारको घण्ट बनाउने साधन र स्रोत भने रैनरहेछ ।

ब्याबसायीको असहमतिको सुझावले मलाई खिन्न तुल्यायो । अब मलाई उचित सुझावको आवश्यकता भयो । मेरो यस बिपतिको अबस्थामा दाजु मोहनप्रसाद घिमिरे ज्यू र भाई देवराज घिमिरेको एउटा सुझावले ओइलाएको बिरुवामा पानीहाले झै मलाई केही राहत भयो । उहाँहरुको सुझाव अनुसार घण्टको आकार त्यसोभए किन नघटाउने ? अब घण्टको आकार घटेर २८ से.मि. रेडिएसन र ८६ से.मि. उचाईमा झरे निर्माण हुन सम्भव हुने कालिगढको पनि सहमति भयो । तर यस आकारको घण्टको सतहमा जम्मा ७६६ अक्षर मात्र अटने सम्भव रहेछ । त्यति अक्षरहरु सोह्रौं पुस्तादेखिका पूर्वजहरुको नाम र हजुरबुवा स्व. बैजनाथ घिमिरे र उहाँका सातभाई छोराहरु लगाएत पितामाताका हामी शाखा सन्तानहरुको नाम मात्र अट्ने संभावना भएकोले आखिरमा घण्टको तौल घटेर १९० के.जी.मा सीमित भै गत श्राबण महिनाको अन्त्यदेखि घण्टको निर्माण सुरुभयो ।

मिति २०७३ साल कात्तिक ७ गते पाटन औद्योगिक क्षेत्र भित्रका चारजना कालिगढहरु ढलानबाट बाहिर निकालिएको घण्ट सफागर्न, घण्टमा सौंनदर्यता थप्न र बुट्टाहरु कुँद्न बिहानै उठेर औजारहरु खेलाउन ब्यस्त थिए । हामीले घण्टमा लेख्ने सूचनाहरुको शुद्धाशुद्धि पटकपटक परिक्षण गरी कम्प्युटरमा डिजाईन समेत भयो । घण्टमा सूचना लेख्ने मंगलबजार, पाटनका एक युवक हुन उनले कसरी नामहरु घण्टमा लेख्ने हामीसँग बसेर समिक्षा गरेंर निर्णय लिए ।
यसैमितिको शुभबिहानीमा तीनजनाको टोली (दाजु श्यामप्रसाद घिमिरे, मितदाजु श्याम खड्का काठमाडांैबाट र भाई पुष्पराज घिमिरे इटहरीबाट) हलेसी प्रस्थान गर्नुभयोे । यो टोली घण्ट प्रतिस्थापन भन्दा तीनदिन अगाडि हलेसीमा पुगेर हलेसी महादेवथानको ब्यबस्थापन समितिसँग, महादेवथानका मुख्य पुजारीसँग र स्थानीय राजनीतिदलका भद्रभलाद्मीहरुसँग समन्वय गरेर घण्ट प्रतिस्थापन गर्ने उचित स्थानको सुनिश्चित गर्न र स्थान निर्माण गर्न आवश्यकपर्ने साधन स्रोत (रड, सिमेन्ट, कङक्रिट, बालुवा र ज्यामी) तयार गरी एउटा आर्च आकारको आकर्षक पिलरहरुको निर्माण गर्नेछन ।

दोस्रो दिन, कात्तिक ८ गते पाटन औद्योगिक क्षेत्रको परिसर भित्र कालिगढहरु घण्टमा सूचना तथा नामहरु लेख्न आफ्ना हात अनबरतरुपमा चलाईरहेका थिए । यही दिनको साँझपख गोजिमा थन्किएको मेरो मोबाइलले अचानक मलाई सूचना ग¥यो । फोनमा सम्बाद गरें । आज साँझसम्ममा घण्टको सबैकाम सकिन्छ रे र अब बुझ्न गए हुन्छ रे । यो समाचार सुनेपछि घण्टको आकार र सौन्दर्यता हेर्न म सारै बिचल्लि भएँ । मेरा श्रदेय पूर्वजहरुको र हामी सन्ततिहरुको नाम यो विशाल घण्टमा पुस्तक पढेझै पढ्न छटपटाईरहेको थिएँ म । क्रमले मेरो निकटका भाई रञ्जन घिमिरे र देवराज घिमिरेलाई कति बिलम्ब नगरि फोन लगाएँ । यन.सि.यल.को टावरले सहयोग नगरेपनि टुटेफुटेको आवाजमा घण्ट तयार भएको सूचना उनीहरुलाई बताएँ । अब हामी तीनैजना घरको कारबाट पाटन औद्योगिक क्षेत्रमातिर साँझको सात बजे दौडियौं । यसबेला पाटन औद्योगिक क्षेत्र निस्पट्ट अन्धकार थियो ।

लोडसेडिङ्गको समय परेछ । अन्धकारमा पहाडका थुम्का जस्ता पुराना घरहरुको बीचमा भत्केको अब्यबस्थित सडक टेक्दै घण्ट निर्माण गर्ने कुटीर उद्योग खोज्न हामी घरी यता घरी उता गरेर समयको दुरुपयोग गर्दै थियौं । भाई देवराजले यकिन गरे, यही घर हो । निस्पट्ट अन्धकारमा भाईले हातले एउटा पुरानु घरको ढोका सुमसुम्याए र झुण्डिएको साङ्लीले घर भित्र आवाज दिए । धेरैबेरमा ढोका खुल्यो तव म ढुक्क भएँ । अन्धकार हलभित्र मैले मोबाईलको उज्यालोको सहाराले आँखा डुलाएँ । त्यहाँ त जताततै हस्तकलाबाट निर्मित बुद्धका, दुर्गामाताका, कालीभगवतीका, भगवान शिवजीका र मठमन्दिरका आकर्शक मूर्ति र झ्याल ढोकाहरुले हल भरिएको रहेछ तर मैले विशाल घण्ट कतै ठम्याउन सकिन म निरास भए । स्थानीय कालिगढले पछाडिको अर्को हलमा हामीलाई इसारा गरे । बाहिर निक्लदै गर्दा झण्डै मैले मेरो टाउकोले ढोकाको माथिपट्टिको संगार भत्काइन ? तर मलाई दुखेको थाहाभएन । झट्ट मधुरो उज्यालोमा पल्लो भवनमा पनि यस्तै धातुद्वारा निर्मित मूर्तिहरु अब्यबस्थित थिए ।

यस्ता थुप्रै मूर्तिहरुको माझमा विशाल घण्टलाई बल्ल प्रष्ट देखें । कालिगढले इनभर्टर लाईट पिटिक्क पार्दै हामीलाई घण्टको सामु उभ्याए र तोते बोलीमा ‘हजुर टपाईहरुको घण्ट यही हो’ सारै डुखपाएँ मैले भने । निहुरिएर घण्टको दर्शन गरें, छोएर स्पर्स पनि गरें र आखिरमा यसलाई हल्लाउन कोशिस गरें चटपटाउने कुनै सम्भावना थिएन ।
उत्साहित हुदै घण्टको शिरमा कल्लीको आकारमा ठूलो अक्षरमा लेखिएको ‘नन्दकुमारी प्रतिष्ठान’पढें त्यसपछि दिबंगत मातापिताको नाम पढें र यसैगरेर श्रदेय १६ जना पूर्वज श्री ६ को नाम पढें यसैगरेर ७ जना श्रदेय बडाबा र काकाबुवाहरुको नाम पढें अखिरमा हाम्रा पितामाताका हामी सबै सन्तानहरु नाति–नातिना र पनातिहरु र सबै शाखा सन्तानको नाम लेखिएको पढें र एकपटक लामो सास फेरें अब मेरो सपना साकार भयो तव मैले यो विशाल घण्ट त्यहाँ नदेखेर मेरा अग्रज बंशहरुको शिर देख्न थालें । मनमनै कल्पना गरें भोलिदेखि मेरा श्रदेय पूर्वजहरुको शिरमा प्रत्यकदिन हजारौ धर्मालम्वि तथा तिर्थयात्रीहरुद्वारा फूलमाला र अक्षता चढ्नेछ । खादाले शिर छोपिनेछ तव मेरा पिताजी मुसकुराए झै यो विशाल घण्ट पत्येक समयमा मुस्कुराउने छ ।
समय हामीसँग धेरै थिएन । भोली कम्तिमापनि ३४ जनाको टोली काठमाडौंबाट हलेसी नौ घण्टाको बसको यात्रा तय गराएर लिएर जानु थियो । पर्सिपल्ट २५० जनाको जमघटमा घण्टको प्रतिस्थापना हुदैथियो । भोलीदेखि नै सबैको खानपिन र बासस्थानको ब्यबस्था, घण्टको पूजाआजा, होम तथा रुद्रीपाठ, हलेश्वर महादेवको पूजाअर्चना र घण्ट प्रतिस्थापनको आधिकारिक धार्मिक अनुष्ठान कार्यक्रम संचालनको ब्यबस्थापन त्यतिकै चुनौतिपूर्ण यथावत नै थियो ।
बजेट र ढुवानीको सरलताको कारणले अधिकतम १४० के.जि.को इष्टिमेटमा घण्ट निर्माणको आदेश दिएका हौं । बनाउदा बनाउदै ५० के.जी.बढी तौलभएको घण्ट बन्यो रे कालिगढले आत्तिएर उनको समस्या बताए । तर उनले हाम्रो समस्याको ख्याल भने गरेनछन् ? प्रति के.जी रु २०००। का दरले घण्ट बनाउने र एउटा अक्षर बराबर रु २०। का दरले लेख्ने आदेश पाएका हुन यिनले । त्यहाँ त ५० केजी फाल्तो तौल चढेर करिब एकलाख हाम्रो बजेट एकैक्षणमा बढ्यो । यो हाम्रो लागि अधिमूल्य थियो । उनी भन्छन यहीकाम गर्ने कालिगढहरुलाई स्वयम् थाहा थिएन यस्तो विशाल घण्ट कति के.जि.को हुनुक्छ ? हामीले उनको समस्याको सहमति मान्नै प-यो ।

साँझको ०८ः३० बजे हाम्रो अगाडि एउटा ठूलो चुनौती बल्ल अब खडाभयो घण्ट कसरी उठाउने ? कुन साधनद्वारा कहाँ लिएर जाने ? भोलि बिहान ६ बजे ३४ जनाको समूह घण्ट बोकेर प्रस्थान गर्नुपर्ने हो । हाम्रो योजना अनुसार ४ वटा टाटा सुमोमा प्रस्थान गर्ने थियो तर हिजोको मोटरको बुकिङ्ग अनुसार यस्ता साना मोटरहरुले वजनदार घण्ट बोक्ने जोखिम लिन चाहेनन । यति ठूलो घण्टले हाम्रो टाटा सुमोमा घण्ट जत्रै भ्वाङ्ग पर्छ र दौडदा मोटर डगमगाउछ हामी ढुवानी गर्न सक्र्दैनौं । मिनीबसहरुले यसै गरेर अस्विकार जनाएका थिए । तव एउटा बसको रिजर्भेसन गरेर एउटा टाएरमाथि घण्ट राखेर ढुवानी गर्ने ब्यबस्था बसको ब्यबस्थापकले सल्लाहा दिएका हुन । ढुवानीको लागि यही उपाए उत्तम थियो ।
यो साँझ भोलि यात्रु संकलन प्वाइन्ट सम्म घण्ट ढुवानी गर्न अर्को साधन हामीसँग थिएन । औद्येगिक क्षेत्रको परिसरका १० जना मानिसहरु भेला गरेर घण्ट उठाई हामी आएको भाईकै गाडीमा टाएरमाथि राखेर लगनखेलबाट बानेश्वर लाने सुझाव कालिगढले दिए । एउटा मोटरको क्षमता ३ कुइन्टलको हो रे र लगभग २ कुइन्टलको घण्ट कसो नबोक्ला भनेर हामीले जोखिम उठाउदै कारमै ढुवानी गरौं । त्यससाँझ घण्ट उठाउदा “जयशंकर” को आवाजले औद्योगिक क्षेत्र नै गुञ्जयमान भयो । जमीनबाट घण्ट उठाउँदा कालिगढहरु सारै उत्साहित भएँ । उनीहरु भन्थे हामीले पनि हलेसी महादेवको तीर्थ गरेको महसूस भयो । मन्द गतिको गुडाइमा बानेश्वर आईपुग्दा झण्डै कारलाई एकघण्टा समय लाग्यो । नयाँ बानेश्वरको हाईवेको आफन्तको सुपरमार्केटमा आजको रात घण्टको बिश्राम गराईयो । हामीलाई भोली त्यहीबाटै बसमा ढुवानी गर्न सजिलो हुनेछ । आफन्तले यो रात मेरो सुपरमार्केटमा यति विशाल घण्टले बिश्राम गर्नाले म आफू स्वयं पूण्य भएको महसूस गरे र सहज सहमति दिए । उनी भोलिपल्ट बिहानै ६ बजे पहिले नै ढोका खोल्न आफ्नू सुपरमार्केटमा उपस्थित भैसकेका थिए ।

यो कलिलो शुभबिहानको ६ बजे हामी यात्रु तथा आफन्तहरुले “शंकर भोले” को गुञ्जमानले घण्ट आफै बसमा लोड भएको भान हुन्थ्यो । आजको यो हाम्रो टोली फेरी दुईभागमा बिभाजित भयो । आठजनाको असक, बृद्धा र बालकहरुको टोली घरको टोयोटा एभियसमा प्रस्थान ग¥यो र हामी बाँकी भक्तजनहरुको तेस्रो टोली बसमा प्रस्थान ग¥यौं । नौ घण्टाको यात्रामा भजन र भक्तिगीत गाईनाले लामो तीर्थयात्रा गरेको अनुभव हुन्थ्यो । बाटोमा मोटर रोकेको बेला बस बिसौनीका यात्रुहरु घण्टलाई देखेर सबैले हलेसी महादेवको दर्शन गरेको महसूस गर्थे र हामीहरु पनि बसमा यात्रा गर्दा घण्टको नजिकको सिटमा बस्न तछाडमछाड गथ्र्यौ । कान्तिपुर टेलिभिजनका पत्रकार भाई पर्वत घिमिरे घण्टको छेउमा बसेर सधै मुस्कुराई रहेका हुन्थे । उनको प्रोत्साहनको भूमिका अत्यधिक थियो ।

दिनको मध्यान्तरमा घुर्मी दूधकोशीको किनारमा हामी अड्कियौं । वारिको मोटर पारि जादैन रे र पारिको मोटर पनि वारि तर्दैन रे कारण बर्षाको बाढीपैरोको कारण अस्थाई बेलीब्रिज झिकिएको अबस्था रहेछ । अब १९० केजीको घण्ट कसरी पारि तार्ने यो हाम्रो दोस्रो चुनौति रह्यो ? घण्ट बोकेर झोलुङ्गे पुलबाट पारि तार्नु पर्छ रे । झोलुङ्गे पुलको लम्बाई ७०० मिटर लामो रहेछ । यहीसमय मोटर जाम भएर झोलुङ्गे पुलसम्म पुग्नुभन्दा झण्ढै एक किलोमिटर अगाडि घण्ट अनलोड भयो । अनगिन्ती मजदूरहरु घण्ट उठाउन त्यहाँ जम्मा भए । घण्ट तारेको मजदूरी भने यिनीहरु लिदैनन् रे तर त्यसोहुन हामीले मानेनौं । प्रशस्त पसलेहरु, अनगिन्ती यातायातका कर्मचारीहरु र सैयौंको संख्यामा यात्रुहरु दूधकोशी वारि र पारि रमिता हेर्ने थिए । सबैको उत्सुकता एउटै थियो यो विशाल घण्ट कहाँ लाने हो ? कोही घण्ट छुन आतुर थिए कोही लेखेको सूचनाहरु पढन तछाढमछाढ गर्थे । दशजना मजदुरहरुले आदेश पाउने बित्तिकै बाँसको गह्रालो लगाएर बोक्न तयार पारें । जब घण्टले पारि तार्न जमीनबाट उठाईयो सयौं मान्छेको एउटै आवाज थियो “जयभोले शंकर” । एकमुष्ट जयभोले शंकरको भयकर आवाजले दूधकोशी वारि पारिको अग्ला पर्वतहरुमा आवाज ठोकिन गै तीस किलोमिटर माथि डाँडामा अबस्थित हलेसीमा स्तब्द रहेका भगवान महादेवले हामीलाई तल च्याहेर शक्ति प्राप्त भएको भान हुन्थ्यो । पुलमा पुग्नुभन्दा सयमिटर अगाडि एउटा सानू दुर्घटना भयो । घण्ट बोक्ने एकजना मजदूरको खुट्टा अल्झिएर घण्ट अप्ठारो बाटोमा पछारियो । दशजना मध्य एकजना मजदूर सामान्य घाइते भए । आपतिको कुरा यदि घण्ट भिरमा खसेको भए सिधै भल बगेर किनारा छोएको कोशीको बीचमा खस्ने संभावना थियो तर शिवजीको प्रसादले र पितृहरुको आशिर्बादले घण्ट बाटोमा नै अड्कियो । हामीले कहिल्यै नफेरेको लामो सास यसैबला फेरौं । निरन्तर जय शंकरको नारालगाउदै र बेलाबेलामा बिसाउदै घण्ट पारि तारियो । पहिलो मोटरमा गैसकेका टोलीले कोशी पारि दोस्रो बसको ३० कि.मि.को हलेसीसम्मको रिजर्भेशन तयार गरेका रहेछन । जादाजादै घण्ट बसमा लोड भयो । यसस्थानबाट गाना भजन गाउदै दुईघण्टामा हलेसी महादेव थानको परिसरमा घण्टले बिश्राम लिन पुग्यो । पूर्वयोजना अनुसार यो रात सबैको खानपिन र बस्ने ब्यबस्था भएको थियो ।

भोलिपल्ट बिहान ४ बजे हामी सबैजनाले महादेव थानको परिसरबाट ५०० वटा नयाँ निर्मित खुट्किला ओर्लदै ३०० मिटर तल ओर्लेर अँगालो जत्रा प्राृकतिको स्रोतका ४ वटा धारामा नुहाई धुवाइ सिध्याएका थियौं । आठै बजे बिहान स्थानीय पंण्डितले यज्ञ स्थल तयार पारेर रेखी हाल्दै थिए । आमन्त्रित स्थानीय महानुभावहरुको आगमन निरन्तर भैरहेको थियो । यज्ञस्थलको अर्कोतिर प्रसादी (पुडी, जेरी, तर्कारी र फलफूलहरु) तयार गर्न हलुवाईहरु आतुर थिए । पूजाअर्चना र रुद्रीपाठ आफै संचालन भएझै लाग्थ्यो । बुईपा खिरीबाट पाल्नुभएका ८० बर्ष उमेरका श्रदेय बृद्ध काका श्री जनकप्रसाद घिमिरे र अन्य घिमिरे बन्धुहरु छ घण्टाको बाटो तय गरेर हिजै हलेसीमा उपस्थित भैसक्नु भएको हुनुहुन्थ्यो । स्थानीयहरुले महादेव थानको परिसर खचाखच भरिएको अबस्थामा हाम्रा पितामाताका आठै भाई हामी छोराहरु र सातैवटी बुहारी र छोराछोरीहरु लगायत इष्टमित्रहरु पूजाआजामा ब्यस्त थियांै (एकजना बुहारी सरीता घिमिरेको सानू बच्चाभएको कारण जान सकिनन) तीनसय भन्दा ज्यादा खुट्किला ओर्लेर तल गुफाभित्र भब्य हलेश्वर माहदेव को पूजाअर्चना हुँदा निरन्तर शंखघण्टको करतल ध्वनिले महादेवथान रन्किएको भान हुन्थ्यो । आधा घण्टा शिबपार्वताको पूजाअर्चना पछि घण्टको पूजाअर्चना र प्रतिस्थापन त्यसैगरेर करतल ध्वनि र भजनका साथ सम्पन्न भयो ।

‘नन्दकुमारी प्रतिष्ठान’ द्वारा आयोजित हलेसी महादेव मन्दिर परिसरमा घण्ट प्रतिस्थापन तथा धार्मिक अनुष्ठानका कार्यक्रममा यस प्रतिष्ठानका अध्यक्ष्य मोहन प्रसाद घिमिरेको अध्यक्षतामा सुरुभैसकेको थियो । प्रमुख अतिथि श्री जनकप्रसाद घिमिरे, समाजसेवी, प्रमुख अतिथि श्री तुलसीप्रसाद ढकाल, बरिष्ठ समाज सेवी, श्री गोपाल कटुवाल, कटुवाल समाज सेवाका राष्ट्रिय अध्यक्षले आशन ग्रहण गर्नुभएको थियो । सद्भाव, सहयोगका साथै गोष्ठी र विचार–मन्थनमा सहकार्य गर्न आमन्त्रीत अतिथिहरुमा श्री श्याम खड्का, राप्रपा नेपाल केन्द्रिय सदस्य, श्री गजुरमान राई, अध्यक्ष हलेसी महादेव मन्दिर ब्यबस्थापन समिति, श्री सम्मर भुजेल, निर्देशक हलेसी महादेव मन्दिर ब्यबस्थापन समिति, श्री महन्त गिरी, पूजारी हलेसी महादेव मन्दिर, श्री अर्जुन गिरी, पूजारी हलेसी महादेव मन्दिर, श्री कुलदिप गिरी, पूजारी हलेसी महादेव मन्दिर, श्री जीवन बहादुर श्रेष्ठ, अध्यक्ष राप्रपा नेपाल खोटाङ्ग, श्री केभी राई, सचिव हलेसी गाबिस, मारुती गुम्बाका प्रतिनिधिहरु, श्री नारायण कोइराला, इन्चार्ज इलाका प्रहरी चौकी हलेसी, श्री पर्वत घिमिरे, कान्तिपुर टेलीभिजन, काठमाडांै, श्री नारायण प्र. घिमिरे, प्रधानाध्यापक श्री जगदम्बा मा.बि.बुईपा खिरी, श्री कृष्ण घिमिरे र डिल्लि घिमिरे बुईपा खिरीका समाजसेवी, श्री चक्र राई क्याम्पस प्रमुख, हलेसी क्याम्पस लगायत थुप्रै अतिथि स्थानीय दाजुभाई तथा दिदी बहिनीहरुको विशाल सहभागिता थियो ।
धार्मिक अनुष्ठान कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु द्वारा सबै आमन्त्रित पदाधिकारीहरुलाई पङ्तिमा खाता लगाइदिएर स्वागत गरी “नन्दकुमारी प्रतिष्ठान”को ब्यानर अगाडि यथाशिघ्र आशन ग्रहण गराइएको थियो । घण्ट प्रतिस्थापन तथा धार्मिक अनुष्ठान कार्यक्रममा उपस्थित सबै अधिष्ठाताहरु जस्तैः गजुरमान राई, सम्मर भुजेल, महन्त गिरी, जीवन बहादुर श्रेष्ठ, नारायण कोइराला तथा सबै दलका स्थानयी पदाधिकारीहरुले आफ्नो मनतव्य दिने क्रममा नन्दकुमारी प्रतिष्ठनाबाट हलेसी महादेव थानमा चढाइएको यो घण्ट यस हलेसी महादेव थानको अब पहिलो बज्ने घण्ट मात्र नभएर अनश्वर सम्पत्ति र जीवन्तताको एउटा परम्परागत महत्वपूर्ण कार्य सम्पन्न भएको छ । अब यो विशाल घण्ट हलेसी महादेवथानको मात्र सम्पत्ति नभएर राष्ट्रको गौरव बढाउने महत्वपूर्ण कार्य भएको र यहाँको हुनुहार गहाना भित्रिएको संज्ञा दिनुभएको थियो । घण्टमा बंशको नाम लेखिएको संसारकै यो पहिलो घण्ट र नेपालकै ठूलो घण्ट भएको जानकारी श्री जीवन बहादुर श्रेष्ठले बताउनुु भयो । श्री सम्मर भुजेल र श्री महन्त गिरीले यस्तो कार्यलाई निरन्तरता दिएर यसलाई अद्यावधिक पार्ने प्रयास सबैको भइरहनुपर्छ । यसको सम्रक्षण र सम्बर्धन अब यस महादेवथानको ब्यबस्थापन समितिको जिम्मामा आएको गजुरमान राईले भन्नुभएको थियो । बक्तब्यको क्रममा, श्याम खड्काले यो एक अनागत अकलुषित अतिविस्तारको थलानि नन्दकुमारी प्रतिष्ठानले गरेको भन्नु भयो । रामप्रसाद घिमिरेद्वारा लिखित “हामीले टेकेको धरती” नामक पुस्तकको बिमोचन प्रमुख अतिथि तथा बरिष्ठ समाजसेवी श्री जनकप्रसाद घिमिरेद्वारा सार्वजनिक भएको थियो ।
यस कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्यामप्रसाद घिमिरेले स्वागत मनतब्यमा सबै अतिथिहरुको स्वागत गर्दै यो हाम्रो घण्ट प्रतिस्थापन मात्र नभएर पितृकोनामको शुभकार्यको अद्यावधि हो भन्नु भयो । नन्दकुमारी प्रतिष्ठान बारे यस प्रतिष्ठानका सचिब श्री बिष्णुप्रसाद घिमिरेले प्रकाश पार्नु भएको थियो । यसैगरेर यस प्रतिष्ठानका कोषाध्यक्ष श्री देवराज घिमिरेले सबै अतिथिहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । यस प्रतिष्ठानका सदस्य तथा घण्ट प्रतिस्थापनका संयोजक तथा “हामीले टेकेको धरती” का लेखक म रामप्रसाद घिमिरेले घण्ट निर्माणको लागि घिमिरे बन्धुहरुसँगको संयोजन, घण्ट निर्माण सम्बन्धिको जानकारी र प्रतिष्थापन बारे जानकारी गराएको थिएँ साथै पुस्तकको केही अंशको बारेमा प्रस्तुत गरेको थिएँ । अन्त्यमा नन्दकुमारी प्रतिष्ठानका अध्यक्ष माननिय न्या. श्री मोहनप्रसाद घिमिरेले नन्दकुमारी प्रतिष्ठानको भावी कार्ययोजना र यस धार्मिक अनुष्ठान कार्यक्रम सम्बन्धि आफ्नो अथक अद्यतन मन्तब्य दिनु भै कार्यक्रम बिसर्जन गर्नु भएको थियो । यस प्रतिष्ठानका सदस्य तथा आजको अनुष्ठान कार्यक्रमका संचालक श्री रञ्जन घिमिरेले सहज तरिकाले कार्यक्रम संचालन गर्नु भएको थियो भने अन्त्यमा, सबै आगन्तुक महानुावहरुले प्रसाद ग्रहण गरेपछि यस धार्मिक अनुष्ठान कार्यक्रम बिसर्जन भएको थियो । जानकारी रहोस ‘नन्दकुमारी प्रतिष्ठान’ ले हलेसीमहादेव थानमा पितृकोनाममा चढाएको घण्ट महादेबथान भित्र प्रबेशगर्दा द्वारको दाहिनेपट्टि पहिलो बज्ने र बजाइने यही बिशाल घण्ट हो ।
यसदिनको रात हलेसी महादेव थानमै गाना भजन गाएर रातबिताई भोलिपल्ट बिहानै एउटा टोली काठमाडौं र अर्को टोली बिराटनगर प्रस्थान गरियो । अचम्मको कुराचै पहाडको यातायात ब्यबस्थाको कठिनाईको कारणले हलेसीबाट बिराटनगर सम्म आईपुग्दा ७ वटा मोटर परिवर्तन गरेर आईपुग्नु प¥यो जव कि दुईवटा मात्र मोटर चढे पुग्दथ्यो ।
आफूले सोचेअनुसारको काम सानोतिनो नै भएपनि दाजु मा.न्या.श्री मोहनप्रसाद घिमिरे तथा श्यामप्रसाद घिमिरेको प्रोत्साहन पाएर र भाईहरु तथा इष्टमित्रहरुको सहयोग र सहानुभूतिमा समूहमा सफलतापूर्वक सम्पन्न हुँदा खुसीलाग्नु सोभाविकै हो । यो धार्मिक अनुष्ठानको काममा प्रत्यक्ष तथा अप्रत्यक्षरुपले साथदिनुहुने सम्पूर्ण महानुभावहरुलाई म प्रतिष्ठानको एक सदस्यको नाताले कृतज्ञता प्रदान गर्दै सबै सहभागिहरुलाई धन्यबाद दिनचाहान्छु ।।

प्रतिक्रिया