१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

sarusaru
२६ मंसिर २०७६, बिहीबार ०७:५३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो बस्‍ने भनिए पनि अहिलेसम्म एजेन्डा तयार हुन सकेको छैन। केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसिरहेको छ।१२ बजे बोलाइएको बैठक २ बजेसम्मका लागि सारिएको छ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले केन्द्रीय समितिको बैठकका एजेन्डाबारे पदाधिकारीबीच अनौपचारिक छलफल चलिरहेको र केहीबेर पनि बैठक सुरु हुने जानकारी दिए। केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुनेछ।

खासगरी विभाग गठनसम्बन्धी एजेन्डामा सहमति हुन नसक्दा बैठकमा ढिलाइ भएको छ। हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्‍याउने तयारी संस्थापन पक्ष छ। ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ।

आन्तरिक व्यवस्थापन र भागबन्डमाअल्झिँदा न महाधिवेशनको क्यालेन्डर तय हुन सकेको छ न त पार्टीको संरचनाको टुंगो लागेको छ । विधानत : आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन्। कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ। तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन।

क्रियाशील सदस्यताको टुंगो लागेको छैन। संगठनको ढुकढुकीका रुपमा क्रियाशिल भातृसंस्थाहरु विघटन भएर निश्कृय अवस्थामा अलपत्र छन्। २०७५ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीको विधान पारित भए पनि गुटगत कलहले त्यसको कार्यान्वयनमा सकस देखिएको छ।
अन्नपूर्ण पोष्ट