८ बैशाख २०८१, शनिबार
Follow Us

साग विजेतालाई एनआरएनएको वधाई तथा शुभकामना


२७ मंसिर २०७६, शुक्रबार १०:४४

लण्डन । हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा सागमा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै गैर आवासीय नेपाली खेलाडीहरुको लागि नेपालमा प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति यो संघ पुनः नेपाल सरकारसहित राष्ट्रिय खेलकुद परिषद् लगायत सम्वद्ध सबैको ध्यानाकार्षण गरिएको छ ।
विज्ञप्तिमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य २०६ पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्पूर्ण सरोकारवाला पक्षलाई संघ हार्दिक बधाई ज्ञापन गर्दछ भनिएको छ ।

विज्ञप्तिमा विशेषतः पौडी प्रतियोगितामा सहभागी यूके निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह ४ स्वर्ण, २ रजत र ३ कास्य र लन टेनिस (सिंगल) तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्य (१ कास्य) ले प्राप्त गरेको सफलताले हामी अत्यन्त उत्साहित भएका छौँ । उहाँहरु दुवैलाई संघ हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछ । दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने हाम्रो सोचलाई उहाँहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको उल्लेख छ ।

संघले गैरआवासीय नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरणको निर्माणतर्फ संघ सदैव प्रयत्नरत छ, सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् लगायत नेपाल सरकारका सरोकारवाला निकायसँग पनि संघले निरन्तर छलफल गरिरहेको जनाएको छ ।