७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराउँदै गौरिका र संरक्षकलाई एनआरएनएको बधाई

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७६, शुक्रबार १३:२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराउँदै गौरिका र संरक्षकलाई बधाइ दिएको छ । पौडी प्रतियोगितामा सहभागी बेलायत निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह (४ स्वर्ण, २ रजत र ३ कास्य) र लन टेनिस सिंगलतर्फ कास्य पदक अस्ट्रेलिया निवासी संरक्षक बज्राचार्यले प्राप्त गरेको सफलताले हामी उत्साहित भएका छौं, एनआरएनए अध्यक्ष पन्तले विज्ञप्तिमा भनेका छन्, ‘उहाँहरु दुवैलाई संघ हार्दिक बधाइसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने हाम्रो सोचलाई उहाँहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको महसुस गरेका छौं ।’

अध्यक्ष पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति गैरआवासीय नेपाली संघले खुशी व्यक्त गर्दछ ।’ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाईभव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिएका सम्पूर्ण सरोकारवाला पक्षलाई संघ हार्दिक बधाइ ज्ञापन गर्दछ ।’

‘गैरआवासीय नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरणको निर्माणतर्फ संघ सदैव प्रयत्नरत छ, सोही क्रममा राष्ट्रिय खेलकुद परिषदलगायत नेपाल सरकारका सरोकारवाला निकायसँग पनि संघले निरन्तर छलफल गरिरहेको छ । यद्यपि अझै केही प्रशासनिक र कानुनी झन्झटलाई यथावत रहेकोप्रति यो संघ पुनः नेपाल सरकारसहित राष्ट्रिय खेलकुद परिषद्लगायत सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछ, जारी विज्ञप्तिमा भनिएको छ ।