१२ बैशाख २०८१, बुधबार
Follow Us

१९ महिनापछि नेकपाको स्थायी समिति बैठक आजबाट

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७६, आईतवार ०४:१०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी एकिकरण भएको १९ महिनापछि स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा उपनिर्वाचन समिक्षादेखि, पार्टी संरचाना निर्माण र सिमा विवाद लगाएतका एजेण्डाले प्रवेश पाउने नेताहरुले बताएका छन् ।

नेकपामा अहिले पार्टी अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्पष्ट रुपमा तीन गुट देखिएको छ । पार्टीभित्र एक अर्कालाई कसरी कमजोर बनाउने भन्ने रणनीतिमा नेताहरु लाग्दा समस्या हुँदै आएको छ । जसका कारण पार्टीको महत्वपूर्ण निर्णय दिने स्थायी समिति बैठक समेत प्रभावित हुँदै आएको छ । बैठकमा सीमा विवाद, प्रभावकारी हुन नसकेको सरकारी कामकाजको विषयमा स्पष्ट कुरा उठाउने तयारी नेपाल पक्षको छ ।

एकतातिर आन्तरिक शक्ति सघर्षलाई सन्तुलन बनाउन नसक्दा पार्टी भित्र विवाद मौलाउदो छ भने, अर्कातिर सिमाविवाद लगाएतका राष्ट्रिय मुद्दालाई सरकारले किनारा लगाउन सकेको छैन । बढ्दो महंगी, भ्रष्टाचार र छ महिने जनअभियान सञ्चालन गर्ने विषयले पनि बैठकमा प्रवेश पाउने नेताहरुले बताएका छन् । यद्यपी दाहाललाई मनाउनका लागि सभामुख पूर्व माओवादीलाई दिने मनस्थितिमा ओली पुगेपछि उपसभामुखको विषयमा पनि कुरा उठ्ने नेताहरुको भनाई छ ।

सरकारको कमजोर र पार्टीभित्रको आन्तरिक विवादका कारण सत्तारुढ नेकपाको आलोचकहरु बढ्दै गएका छन् । यसलाई मथ्थर पार्दै सरकार र पार्टी सन्तुलित ढंगबाट सञ्चालनका लागि बैठकले के निर्णय गर्छ, प्रतिक्षाको विषय बनेको छ ।