१३ बैशाख २०८१, बिहीबार
Follow Us

देशभरका ह्याचरी उद्योग आजदेखि १० दिन बन्द

sarusaru
२९ मंसिर २०७६, आईतवार ०४:२५

चितवन । लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।

‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो,’ उनले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’

उनका अनुसार एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्छ, तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम छ ।

लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।

१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताए ।

नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर कुखुरा चल्ला आवश्यक भए पनि हालको उत्पादन ४५ लाख छ । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरेपछि सबैको सल्लाहमा बन्द गरिएको जानकारी दिइएको छ । यसो हुँदा एक लाख हाराहारी प्यारेन्ट घट्ने छन् ।

नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । चितवनमा मात्रै १२० भन्दा बढी ह्याचरी छन् । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको बताइन्छ ।

पञ्चरत्न फिड्का प्रमुख एवम् पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले चल्ला उत्पादन गरेर निरन्तर घाटा भोग्नुपरेकाले १० दिन बन्द गर्न लागिएको बताए । ‘आफूहरुको लागत ५५ भन्दा माथि हुन्छ १५/२० रुपैयाँ गोटा चल्ला बेच्दा भएको घाटा कसरी कहिलेसम्म सहने ?’ डा. भट्टराईले भने, ‘मैले त २० मा बेच्नुभन्दा खाल्डामा पुरिदिन भनेको छु ।’

बजार किन यस्तो अनियन्त्रित भयो भन्नेबारेमा खोजी भैरहेको डा. भट्टराईले बताए । ‘मासुको उपभोग घटेको छैन, अण्डाको उपभोग घटेको छैन, तर निरन्तर मासु अण्डा र चल्लाको भाउ खटिरहेको छ,’ डा. भट्टराईले भने ‘आत्मनिर्भर उन्मुख पोल्ट्री क्षेत्रलाई नै असर गर्ने खेल भैरहेका छन्, यसमा हुने विदेशी लगानीले पनि थोर बहुत काम गरेको छ ।’

कुखुराजन्य पदार्थको लागत मूल्य समेत पाउन नसक्नुलाई व्यवसायीहरुले चुनौतीका रुपमा लिएका छन् ।

ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले व्यवसायीले मात्र नभई किसानले समेत उचित मूल्य नपाएको बताउँछन् । अहिले कृषकबाट जिउँदो कुखुरा १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा उठाएर उपभोक्तासम्म पुग्दा २६० रुपैयाँ लिने गरिएको सचिव लामिछाने बताउँछन् ।

दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ रुपैयाँ पर्दछ । लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको लामिछानेले बताए ।

नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी छ । ब्यवसायीहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको पोल्ट्री विज्ञ डा. भट्टराइले बताए । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा छ ।

चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा र मासु उत्पादकहरुको अवस्था पनि दयनीय बन्दै गएको व्यवसायीहरु बताउँछन् ।
अनलाइन खबर