७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्व राष्ट्रपति यादवको गुनासो

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७३, शनिबार ०७:००

काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले सबै राजनीतिक दलहरुको सहमतिमा बनेको संविधान कार्यान्वयनमा जान नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि द्वन्दका घाउहरु अझै नमेटिएकाले संविधान कार्यान्वयन गरेर मुलुकलाई शान्ति तर्फ लानुपर्नेमा जोड दिनुभयो ।
शान्ति सम्झौता भएको १० वर्ष पूरा भएको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले संविधान निर्माण भएको समयमा मधेश, थारु, जनजाति, उत्पीडन महिलाहरुको असन्तुष्ट माग पूरा गरेर संविधान कार्यान्वयनमा लाग्न सबै दलहरुलाई आग्रह गर्नुभयो । उहाँले दलहरुबीच सहमति भएर संविधान जारी भएको स्मरण गर्दै कार्यान्वयन गर्नको लागि पनि सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले शान्ति प्रक्रियाको लागि सबै राजनीतिक दलहरुले उत्तिकै भूमिका खेलेकाले संविधान कार्यान्वयन गरेर पुन शान्ति स्थापित गर्न सबै अग्रसर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द यादवले जनताको आवाजलाई दबाएर संविधान जारी गरेर शान्ति पुन स्थापना गर्ने सरकारले छलकपट गरेको आरोप लगाउनुभयो । उहाँले शान्ति प्रक्रिया भएको दश वर्ष वितिसक्दा पनि सरकारले गरेको छलकपटले मुलुकमा अझै अशान्ति रहेको जिकिर गर्नुभयो । कार्यक्रममा अधिकांश वक्ताहरुले संविधान कार्यान्वयन गरेर मुलुकमा शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।