१३ बैशाख २०८१, बिहीबार
Follow Us

नागरिकता कानुनविरुद्ध दिल्लीमा हिंसात्मक प्रदर्शन

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७६, सोमबार ०५:०६

नयाँदिल्ली । नागरिकता सम्बन्धी नयाँ कानुन पारित गरे लगत्तै भारतमा सुरु भएको विरोध प्रदर्शन राजधानी नयाँ दिल्लीसम्म पुगेको छ । प्रदर्शनकारीहरुले दिल्लीको सराय जुलेना तथा मथुरा रोडमा केही बसमा आगजनी गरेका छन् । प्रदर्शनका क्रममा केही ठाँउमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।

प्रहरीले जामिया इस्लामिया विश्वविद्यायलमा छिरेर विद्यार्थीहरुमाथि कुटपिट गरेको छ । प्रहरीले विश्वविद्यालयमा छिरेर विद्यार्थीलाई कुटपिट गरेको विरोधमा विद्यार्थीहरुले प्रहरी मुख्यालय बाहिर प्रदर्शन तथा नारावाजी गरेका छन् ।

प्रदर्शन आइतबार रातीसम्म जारी रहेको थियो । प्रदर्शन चर्किएपछि दिल्ली गेट, प्रगति मैदान र मेट्रो स्टेशन बन्द गरिएको छ । भारतमा हालै जारी भएको नागरिकता सम्बन्धी नयाँ कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथी सरकारले दमन गर्दा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रदर्शन उग्र र हिंसात्मक बन्दै गएपछि सरकारले उत्तरपुर्वी भारतीय क्षेत्रमा इन्टरनेटमा प्रतिबन्ध र कफ्र्यू लगाएको छ । भारतको संसदले गत बुधबार नागरिकता सम्बन्धी नयाँ कानुन पारित गरेको थियो ।

सो कानुनमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट आप्रवासी भएर आएका तर कागजात नभएकालाई नागरिकता दिने अधिकार केन्द्रीय सरकारलाई हुने उल्लेख छ । तर यो प्रावधान मुस्लिमको हकमा भने लागु नहुने उल्लेख छ ।