८ बैशाख २०८१, शनिबार
Follow Us

कृष्णदासलाई अनुसन्धानका लागि पुनः ७ दिनको म्याद थप

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७६, सोमबार १०:५७

इटहरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले अनुसन्धानका लागि पुनः ७ दिनको म्याद थपेको छ । अनुयायी बलात्कार गरेको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।

सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धान लागि म्याद थपेको हो ।

अदालतले यसअघि तीन पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । सोमबार लागु हुने गरि थप भएको ७ दिनमा प्रहरीलाई थप अनुसन्धान सहित उपस्थित गराउन भनिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोश शर्माले अदालतको आदेश बमोजिम तत्कालका लागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको छ ।

जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पूनः म्याद थपको मागसहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको बताए ।