११ बैशाख २०८१, मंगलवार
Follow Us

तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७३, शनिबार १३:१२

बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैको पनि स्वार्थ पूरा गर्न संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । उहाँले नेकपा (एमाले)ले संविधानको कार्यान्वयनको नेतृत्व गर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो–“कार्यान्वयनका क्रममा अप्ठेरो आएमात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै जनताको भावनाविपरीत एमालेले स्वीकार गर्दैन ।”

नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्दै उहाँले अरु कसैको मागलाई जनताले स्वीकार नगर्ने बताउनुभयो ।

अहिले मुलुकको कार्यभार संविधान कार्यान्वयन गरी निर्वाचन गर्नु रहेकाले अन्य कुरामा नअल्झिन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । भारतमै समेत कतिपय प्रदेश तराई र पहाड मिलेर बनेको उदाहरण दिँदै अध्यक्ष ओलीले तर नेपालमा तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित रहेको उल्लेख गर्नुभयो ।

उहाँले अन्यत्र असफल भएपछि ५ नम्बर प्रदेशलाई तराई र पहाड टुक्र्याएर अलग गराउने कोसिस भइरहेको उल्लेख गर्दै उहाँले यो माग कसले, किन र के उद्देश्यले राखेको हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो–“५ नम्बर प्रदेशका जनताले यो विषय उठाएकै छैनन्, जनताको भावनाविपरीत हुनेगरी त्यसखालको प्रस्ताव आए एमाले विपक्षमा उभिन्छ ।”

उहाँले अङ्गीकृत नागरिकता लिएका व्यक्तिलाई संवैधानिक पदमा पु-याउने गरी संविधान संशोधन गर्न नसकिने बताउनुभयो । नागरिकताको विषयमा संसारमै कहीँ नभएको खुकुलो प्रावधान नेपालमा रहेको भन्दै ओलीले यसलाई बरु सच्याउनुपर्नेमा झन खुकुलो बनाउने गरी नियोजित षड्यन्त्र रचिएको दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनको विषयमा सिङ्गो पार्टी पङ्ति एकताबद्ध भएको उल्लेख गर्दै पहाड र मधेसलाई छुट्याउने गरी आउने कुनै पनि प्रस्ताव देशको हितमा नहुने बताउनुभयो ।

पार्टीका महासचिव ईश्वर पोखरेलले २०७४ माघसम्म तीनै तहको निर्वाचन गराउने दिशामा सरकार नलागेर त्यसलाई अलमल्याउने र सत्ता टिकाउने दिशामा मात्र लागेको भन्दै देशलाई संवैधानिक जटिलतामा फस्न नदिन अब कार्यकर्ता पङ्क्तिबाट खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो ।

पार्टीका उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशलाई विभाजन गर्न खोजिए सडक आन्दोलनबाट त्यस्तो प्रयासलाई विफल पारिने चेतावनी दिनुभयो । उहाँले एमाले ५ नम्बर प्रदेश कमिटीले मङ्सिर महिनामा सम्पूर्ण कमिटीका बैठक, पुसमा प्रशिक्षण, माघमा घरदैलो र फागुनमा जनसभाको आयोजना गर्ने गरी योजना निर्माण गरेको जानकारी दिनुभयो ।

एमालेको सिङ्गो नेतृत्व एक भएर औचित्य र आवश्यकता पुष्टि नभई संशोधनको कुरा सोच्न पनि नसकिने स्पष्ट पार्नुभयो ।

भेलामा अगुवा कार्यकर्ताका रुपमा प्रदेश कमिटीका सदस्यहरु, जनवर्गीय सङ्गठनका जिल्ला अध्यक्षहरु र जनवर्गीय सङ्गठनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरु गरी करिब एक हजार ६०० जना सहभागी रहेको पार्टीका केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

भेलामा संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानलाई सफल बनाउने विषयमा नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका थिए ।