८ बैशाख २०८१, शनिबार
Follow Us

सेयर बजारः पाँच अर्ब बढीको कारोबार

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७३, शनिबार १३:२८

काठमाडौं । धितोपत्र बजारमा यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा अन्तिम दिन ४१ दशमलव ९२ अङ्कले घटेर एक हजार ६५८ अङ्कमा पुगेको छ । कुल १५३ कम्पनीको ५२ लाख ८७ हजार १७० कित्ता सेयर रु पाँच अर्ब दुई करोड ५४ लाख मूल्यमा खरिदबिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा ७६ दशमलव ६२ प्रतिशत बढी हो ।

गत साता १४६ कम्पनीको सेयर कारोबार भएको थियो । जसमा रु दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरका ४० लाख छ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएका थिए । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पहिलो दिनको तुलनामा ९ दशमलव १४ अङकले घटेर ३५८ दशमलव ५९ अङकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु एक अर्ब ४० करोड ७९ लाख ४० हजार मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

यसै साता राप्तीभेरी विकास बैंकको एक लाख ८७ हजार ५२० कित्ता र महाकाली विकास बैंकको दुई लाख १६ हजार २४० कित्ता बोनस सेयर र ग्रीन डेभलपमेन्ट बैंकको दश लाख कित्ता साधारण सेयर स्टकमा सूचीकृत भएको छ ।