February 21, 2020

पीत पत्रकारिता

  22nd December 2019 मा प्रकाशित

मोहविक्रम सिंह

सरकारले प्रेस काउन्सिलसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दा प्रेस स्वतन्त्रतामाथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारहरूमाथि कडा सजायको प्रावधानहरू समेतको हामीले विरोध गरेका थियौँ र हाम्रो त्यो मत अहिले पनि कायम छ । तर, त्यसको अर्थ वा प्रेसको स्वतन्त्रताको अर्थ झुटा र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमाथि आक्रमण गर्नको लागि छुट हुनुपर्दछ भन्ने होइन । त्यस प्रकारका गतिविधिहरूमाथि पूरै नियन्त्रण हुनुपर्छ र त्यसको लागि उनीहरूमाथि आवश्यक र कडा सजाय हुनुपर्छ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ । नेपालमा पत्रपत्रिकाहरूको उछृङ्खल कार्यविधिमाथि नियन्त्रण गर्नको लागि प्रेस काउन्सिलको पनि स्थापना गरिएको छ । तर, त्यसले पनि नेपालको पत्रकारिता जगतमा देखापर्ने पीत पत्रकारितामाथि पूरै नियन्त्रण गर्न सकेको देखिन्न । यो गम्भीर दुःख र चिन्ताको कुरा हो ।

नेपालमा पहिले ‘आरती’ नामको एउटा साप्ताहिक प्रकाशित हुन्थ्यो । त्यसले बारम्बार मैले दलाईलामाबाट पैसा लिएर चीनको विरोध गरेको समाचार प्रकाशित गर्ने गर्दथ्यो । चीनले दक्षिणपन्थी संशोधनवादी बाटो समातेपछि हामीले त्यसको विरोध गरेका थियौँ । त्यो सैद्धान्तिक विरोधलाई त्यसले दलाई लामासित लगेर जोडेको थियो । अन्य पत्रपत्रिकाहरूले पनि मेरा विरुद्ध त्यस प्रकारका निराधार समाचारहरू प्रकाशित गरेको लामो सूची छ । अहिले म ती सबैको चर्चा गर्नेपट्टि लाग्दिन । अहिले मैले यो लेखमा हालसालै मेरा विरुद्ध प्रकासित भएका केही झुठा समाचारहरूको चर्चा गर्नेसम्म मात्र आफूलाई सीमित राख्नेछु ।

हाम्रो पार्टीको आठौँ महाधिवेशनको तयारी र त्यसपछि पनि एउटा समाचार पत्रपत्रिका वा अनलाइनहरूमा व्यापक रूपले उठ्ने गरेको छ र त्यो समाचार अहिलेसम्म पनि नयाँनयाँ रूपमा दोहोरिने गरेको छ । त्यो समाचारको सारतत्व हो ः दुर्गालाई मन्त्री बनाउन मैले प्रधानमन्त्री ओली वा नेकपाका अध्यक्ष प्रचण्ड कहाँ दौडधुप गरेको छु भन्ने । अब त्यो झुटा समाचारमा एउटा कुरा थपिएको छ ः मैले उनलाई उपसभामुख बनाउनको लागि खुमलटारमा वा प्रचण्डकहाँ दौडधुप गरेकोछु भन्ने ।

त्यो झुटा समाचारको दौड यहाँसम्म पुग्यो कि युनाइटेड पोष्ट साप्ताहिकले मैले भारतीय राजदुतसँग दुईघण्टासम्म गोप्य वार्ता गरेको दुर्गालाई मन्त्री बनाउन सहयोग गर्न अनुरोध गरेको समाचार पनि प्रकाशित गरेको थियो । उनीसित त्यो गोप्य वार्ता कहाँभयो ? त्यो सन्दर्भ पनि अत्यन्त हास्यास्पद प्रकारको छ । एउटा विवाह भोजमा, जहाँ हजारभन्दा बढी मानिसहरू उपस्थित थिए, नै उनीसित देखादेख भएको थियो । त्यति धेरै मानिसहरू उपस्थित भएको विवाह भोजमा कुनै राजदुतसित दुईघण्टासम्म गोप्य वार्ता हुनु के सम्भव थियो ? त्यो विवाहका आयोजक वा पार्टी प्यालेसका प्रबन्धक, कर्मचारीहरू वा विवाहमा आएका मानिसहरूलाई सोधेपनि त्यो कुरा प्रष्ट हुनेछ । ती सबै मानिसहरूका बीचमा त गोप्य वार्ता हुन सक्दैनथ्यो । त्यसका लागि त्यहाँ बेग्लै गोप्य कोठाको व्यवस्था हुनुपर्दथ्यो । के त्यो विवाहका आयोजक वा होटलका प्रबन्धकहरूले त्यहाँ त्यस प्रकारको गोप्य कोठाको व्यवस्था गरेका थिए ?

उक्त झुटा समाचारबारे आवश्यक छानवीन र त्यसका लागि आवश्यक कारवाही गर्न हाम्रो पार्टीका प्रवक्ता का. रामप्रकास पुरीले प्रेस काउन्सिलमा आवेदन दिनुभएको थियो । त्यही सिलसिलामा दुर्गाले पनि प्रेस काउन्सीलमा आवेदन दिएकी थिइन् ।पछि उनले काठमाडौँको जिल्ला आदालतमा पनि उजुरी दिएकी छन् । तर, युनाइटेड पोष्टको ठेगाना पत्ता लाग्न नसकेर अहिलेसम्म अदालतले त्यो पत्रिकाको नामको पुर्जी तामेल गर्न सकेको छैन ।
हालै ताजा खबर साप्ताहिक, रिपोटर्स नेपाल र रिपब्लिका दैनिक नामक अनलाइनले पनि त्यही प्रकारका झुटा समाचार प्रकाशित गरेका छन् । त्यस सिलसिलामा ताजा खबरले लेख्दछ ः “मोहनविक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ…. सिंहले श्रीमतीलाई मन्त्री बनाइदेउ भन्दै कहिले खुमलटार पुगेका छन् त कहिले प्रम ओलीलाई गुहारेका छन् …. । यो समाचार नेकपा (मसाल)ले नपचाउन सक्छ । महामन्त्री मोहनविक्रम सिंहले प्रथमत शुरु गरेर विज्ञप्ती प्रकाशित गर्दै समाचारलाई झुट भनेपनि अनौठो नमाने हुन्छ । किनकी उनी पहिला प्रम केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाइदिन निकै धाए । ओलीले बेवास्ता गरेपछि खुमलटार धाउन थालेको प्रमाण समाचार सूत्रले गोप्य राखेको छ ।” उक्त साप्ताहिकले गोप्य राखेको “प्रमाण” के हो ? त्यसरी कुरालाई सन्ध्ययमा राखेर त्यसले बढी भ्रम दिने प्रयत्न गरेको छ ।

रिपोटर्स नेपालले लेख्दछ : “मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल सांसद छिन् । उनलाई मन्त्री या उपसभामुख बनाउन मोहनविक्रम सिंहले लविङ थालेका छन् । त्यसका लागि उनले प्रचण्डलाई समेत भेटेका छन् । सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिल्ने संवैधानिक व्यवस्था छ । त्यसैले उक्त पद दुर्गाको लागि माग्न मोहनविक्रम सिंहले सक्रियता देखाएका हुन् । उपसभामुख नपाए मन्त्री भएपनि बनाउने गरी सिंहले प्रचण्डलाई भेटेका हुन् । संसदको अधिवेशन ४ पौषबाट सुरु हुँदैछ । त्यस अगावै सभामुख र उपसभामुखको लागि दौडधुप चलेको छ । यस क्रममा दुर्गालाई उपसभामुख बनाउन मोहविक्रम सिंहले समेत लविङ थालेका छन् ।”

रिपब्लिका दैनिक २०७६ पौष ३ लेख्दछ ः मोहनविक्रम सिंहले दुर्गा पौडेललाई “उपसभामुख वा मन्त्री बनाउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहासँग आग्रह गरेका छन् ।…. दाहालसँगको भेटमा नेता सिंहले पौडेललाई उपसभामुख बनाउन आग्रह गरेका हुन् । उपसभामुख बनाउन नसके मन्त्री भए पनि बनाउन सिंहले दाहालसँग आग्रह गरेको नेकपा निकट उच्च स्रोतले जनाएको छ …. । सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिल्ने संवैधानिक व्यवस्था छ…. त्यसैले उक्त पद पौडेलका लागि उपयुक्त हुने सिंहले नेकपाका अध्यक्ष दाहालसँग आग्रह गरेका छन् ।”

माथिका सबै समाचारहरू निराधार र कपोलकल्पित हुन् । पहिले दुर्गालाई मन्त्री बनाउको लागि प्रधानमन्त्री ओली र भारतीय राजदुतलाई समेत भेटेका समाचारहरू छापिने गर्दथे । पछिल्लो समयमा छापिएका पत्रपत्रिका र अनलाइनहरूले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसित नै त्यस प्रकारको दौडधुप गरेको समाचार प्रकाशित गरेका छन् । त्यस सन्दर्भमा मैले के स्पष्ट गर्न चाहन्छु भने हालसालका महिनाहरूमा मेरो उनीसित कुनै भेटघाट पनि भएको छैन । फोनमा समेत कुनै सम्पर्क भएको छैन । रिपब्लिका दैनिकले “नेकपा निकट उच्च स्रोत”बाट उक्त समाचार थाहा भएको लेखेको छ । ताजा खबरले “उक्त विषको प्रमाण” समाचार सूत्रले “गोप्य राखेको” बताएको छ ।

रिपब्लिका दैनिकले नेकपाको जुन “निकट उच्च स्रोत”को उल्लेख गरेको छ त्यसबारे दुईवटा सम्भावनाहरू हुन सक्दछन् ः या त त्यसले त्यस प्रकारको जुन स्रोतको कुरा गरेको छ, त्यो नै कपोलकल्पित हो वा नेकपाको नजिकको त्यस प्रकारको कुनै स्रोतले झुटा समाचार प्रसारित गरेको छ । उक्त दुवै समाचारहरू मध्ये जुन कुरा सत्य भएपनि अन्ततः त्यो समाचार पूरै झुटा भएको कुरा हामीले दावीपूर्वक भन्दछौँ । जहाँसम्म ताजा खबरले उल्लेख गरेको तथाकथित प्रमाणको प्रश्न छ, त्यो पनि पूरै निराधार छ । हामीले उक्त दुवै पत्रिका वा अनलाइनसित उक्त स्रोत वा प्रमाण प्रस्तुत गर्नका लागि चुनौती दिन्छौँ । पत्रकारिताको गोप्यतामाथि ध्यान दिंदै उनीहरू त्यस प्रकारको प्रमाण वा स्रोत खुलाउन तयार नभएको अवस्थामा पनि त्यस प्रकारको समाचारको सत्यता प्रमाणित गर्नु उनीहरूको जिम्मेवारी हुन्छ ।

अन्यथा झुटा समाचार प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमा आक्रमण गर्ने उनीहरूलाई कुनै अधिकार हुँदैन । पत्रकारिताको आचार संहिताले पनि उनीहरूलाई त्यस प्रकारको कुनै अधिकार दिंदैन । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो अत्यन्त नीच स्तरको र अनैतिक पीत पत्रकारिता हो । हामीले उनीहरूलाई हाम्रो यो आलोचनालाई गलत सावित गर्न चुनौती दिन्छौँ ।

उक्त पत्रिका वा अनलाइनहरूले पहिले दुर्गा पौडेललाई मन्त्री बनाउन “उनी पहिला प्रम केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाइदिन निकै धाए, ओलीले बेवास्ता गरेपछि खुमलटार धाउन” थाले (ताजा खबर साप्ताहिक) सत्यता यो हो कि चुनावपछि ओलीसित मेरो भेटघाट वा टोलिफोनमा कुनै वार्ता समेत भएको छैन । त्यसरी दुर्गालाई मन्त्री बनाउन ओलीकहाँ धाएको भन्ने समाचार पूरै झुट हो । त्यसरी दुर्गालाई मन्त्री बनाउन ओलीकहाँ धाएको भन्ने समाचार पूरै झुट हो । चुनावपछि प्रचण्डसित एकाधपल्ट अवस्य पनि भेटघाट भएको छ । तर, उपसभामुखको प्रसङ्ग पूर्व सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट राजिनामा दिएपछि नै सुरु भएको हो । तर, त्यो कालमा मेरो प्रचण्डसँग कुनै भेटघाट वा फोनमा कुरा समेत भएको छैन ।

उक्त झुटा समाचारहरू सिलसिलेवार प्रकारले प्रकाशित हुने गरेका छन् । उक्त झुटा समाचारहरूभन्दा महत्वपूर्ण प्रश्न यो हो ः त्यस प्रकारका झुटा समाचारहरू विभिन्न पत्रपत्रिका वा अनलाइनहरूले सिलसिलेवार प्रकारले किन प्रकाशित गर्ने गरेका छन् ? यसका पछाडिको उद्देश्य वा अभिप्राय के हो ? पत्रकारिताको उद्देश्य सत्य समाचारको खोजविन गर्नु वा प्रकाशित गर्नु हुन्छ र हुनुपनि पर्दछ । तर, कसैले सनियत र योजनावद्ध प्रकारले झुटा समाचार प्रकाशित गर्दछ भने त्यो समान्य कुरा होइन । मेरो वा दुर्गा पौडेलको सन्दर्भमा लगातार त्यही कुरा हुने गरेको छ । त्यसबारे यो प्रश्न उठ्दछ ः त्यस प्रकारको कार्य कसले र के उद्देश्यले गरिरहेको छ ।

एकाध पत्रपत्रिकाले त्यस प्रकारको झुटा समाचार प्रकाशित गरेको भए त्यो सामान्य कुरा हुन्थ्यो वा हुन सक्दथ्यो । कसैले कतैबाट त्यस प्रकारको झुटा समाचार प्राप्त गरेको हुनाले भूलचुकवस त्यस प्रकारको समाचार प्रकाशित गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्नथ्यो होला । त्यो अवस्थामा उनीहरूको नैतिक दायित्व त्यस प्रकारको गल्ती वा कमजोरीलाई सच्चाएर सत्य समाचार दिनु नै हुन्थ्यो वा हुनुपर्दथ्यो । तर, हाम्रो सन्दर्भमा सिलसिलेवार रूपले नै कैयौँ पत्रपत्रिका वा अनलाइनहरूले एकपछि अर्को गर्दै त्यस प्रकारका समाचारहरू प्रकाशित गर्ने गरेको कुरा माथिका केही तथ्यहरूबाट प्रष्ट हुन्छ । त्यो अवस्थामा यो शङ्का गर्नका लागि ठाउँ छ कुनै देशी वा अन्तर्राष्ट्रिय गिरोहले सनियत नै त्यस प्रकारको समाचारहरू प्रकाशित गरेर भ्रम फैलाउने काम गरिरहेको ता छैन ? त्यस प्रकारको गिरोह हुन हो ? त्यसबारे स्वयं पत्रकार जगतले पनि ध्यान दिनुपर्ने वा त्यसबारे सत्यतथ्य बाहिर ल्याउन प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

किनकी अहिले सिलसिलेवार प्रकारले जुन पीत पत्रकारिता देखा परेको छ, त्यसबारे पत्रकार जगत पनि बदनाम हुँदै गएको छ । पत्रकारिता जगतलाई त्यस प्रकारको अमर्यादिन व्यवहारबाट बचाउन प्रेस काउन्सिलको व्यवस्था गरिनुका साथै विभिन्न कानुनी व्यवस्थाहरू पनि गरिएका छन् । तर, त्यसका बाबजुद नेपालको पत्रकार जगतमा यस प्रकारको पीत पत्रकारिता किन अनियन्त्रित प्रकारले मौलाउँदै वा फैलिदै गइरहेको छ ? यो गम्भीर प्रश्न हो । स्वयं पत्रकार जगतले यसबारे प्रकाश हाल्नुपर्ने वा जबाफ दिनुपर्ने आवश्यकता छ ।

अहिले पत्रपत्रिकाहरूमा दुर्गा पौडेललाई उपसभामुख बनाउने कुरा निकै चर्चा भइरहेको छ । त्यसबारे हामीले के स्पष्ट गर्न चाहन्छौँ भने, हाम्रो पार्टीले त्यसबारे कुनै विचार वा छलफलसम्म गरेको छैन, त्यसबारे खुमलटार धाउनेकुरा ता धेरै टाढाको कुरा भयो । त्यो कुरा कसले उठायो र कहाँ उठ्यो ? त्यो हाम्रो सरोकारको विषय होइन । त्यसकारण त्यसबारे कुनै छलफल गर्नुपर्ने आवश्यकता नै हामीले देखेका छैनौँ । कुनै बेला यस प्रकारको कुनै विषयमा आधिकारिक रूपमा त्यस प्रकारको कुनै प्रस्ताव आएमा हामीले त्यसबारे आवश्यक निर्णय गर्ने गर्दछौँ र त्यसबारे सार्वजनिक रूपले जानकारी पनि दिने गर्दछौँ । त्यस प्रकारको कुनै विषयमा निर्णय गर्दा हाम्रा आफ्नै सिद्धान्त वा नीतिहरू हुन्छन् र तिनीहरूका आधारमा नै हामीले कुनै निर्णय गर्दछौँ ।
सत्ता वा कुनै पदको लागि धाउने हाम्रो पार्टीको कुनै चरित्र रहेको छैन । हाम्रो पार्टीको अहिलेसम्मको इतिहासमाथि ध्यान दिने हो भने त्यो कुरा प्रष्ट हुन्छ । त्यस प्रकारको पृष्ठभूमिमा दुर्गालाई मन्त्री वा उपसभामुख बनाउन प्रधानमन्त्री ओली वा नेकपाका अध्यक्ष प्रचण्डकहाँ दौडधुप गरेका भन्ने समाचारहरू पीत पत्रकारिताका अत्यन्त निम्न स्तरका नमूनाहरू नै हुन् ।

भारतीय शासक वर्गको चाकडी गरेर धेरै राजनीतिक पक्षहरूले सत्तामा पुग्न प्रयत्न गर्दै आएका छन् । तर, हाम्रो पार्टीले भारतीय साम्राज्यवादप्रति सधैँ दृढ र सम्झौताहीन सङ्घर्षको नीति अपनाउँदै आएको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले भारत अब विस्तारवादी देश नरहेर साम्राज्यवादी देश भएको निष्कर्ष निकालेको छ । नेपालप्रति त्यसले अपनाइरहेका हस्तक्षेप र अतिक्रमणका नीतिहरूका कारणले त्यसप्रतिको हाम्रो विरोध वा सङ्घर्ष अरू बढेर गएको छ । त्यस प्रकारको अवस्थामा भारतीय राजदुतसँग भेटेर दुर्गा पौडेललाई मन्त्री बनाउन प्रयत्न गर्ने कुरा हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । त्यो अवस्थामा हाम्रा विरुद्ध लगाइएको त्यस प्रकारको आक्षेप हाम्रो चरित्र हत्या गर्ने कुरा मात्र नभएर हाम्रो पार्टीको उज्ज्वल र गौरवपूर्ण चरित्रमाथि नै हमला गर्ने प्रयत्न हो । त्यसले बताउँछ, कतिपय पत्रकारहरू कति तल्लो स्तरमा गिर्न सक्दारहेछन् ।

विभिन्न पत्रपत्रिका वा अनलाइनहरूले हाम्रा विरुद्ध जुन प्रकारको झुटा प्रचार गरिरहेका छन्, त्यसमाथि विचार गर्दा के देखिन्छ भने उनीहरूले व्यक्तिगत रूपमा मेरो वा दुर्गाको चरित्र हत्या गर्नको लागि होइन, हाम्रो पार्टीको राजनीतिक चरित्रलाई धमिल्याउनको लागि नै त्यस प्रकारको प्रचार गरिरहेका छन् । नेपालको राजनीति वा कम्युनिष्ट आन्दोलनमा त्यो कुनै नयाँ कुरा होइन । दशकौँदेखि हाम्रा विरुद्ध त्यस प्रकारको झुटा प्रचार वा चरित्र हत्या गर्ने काम हुँदै आएको छ । राजनीतिक रूपले हाम्रा विरुद्ध सङ्घर्ष गर्न नसकेपछि उनीहरूले व्यक्तिगत गालीगलौज वा चरित्र हत्याद्वारा हामीमाथि हमला गर्ने गर्दछन् । तर, त्यसले हाम्रो राजनीतिक भूमिकालाई समाप्त गर्न सक्दैन ।

भनिन्छ, पहिले हङकङमा सीआएको एउटा एजेन्सी थियो । त्यसले माओका विरुद्ध झुट्टा समाचार बनाएर लगातार प्रसारित गर्ने गर्दथ्यो । केही समयपछि एउटा समाचार झुटा सावित भएपछि पुनः अर्को झुटा समाचार बनाएर प्रचार गर्ने गर्दथ्यो । त्यस प्रकारको नयाँ समाचारले केही समयको लागि भ्रमदिन सक्दथ्यो । तर, त्यसको असर कम भएपछि पुनः नयाँ झुट्टा समाचार प्रसारित गर्ने गर्दथ्यो । त्यही प्रकारको सीआइए शैली नेपालका कतिपय पत्रपत्रिका वा अनलाइनहरूले पनि अपनाएको देखिन्छ ।

यस सन्दर्भमा हिटलरको प्रचारमन्त्री गोयल्सले अपनाएको शैली पनि उल्लेखनीय छ । उसको के मान्यता थियो भने कुनै झुट्टा समाचारलाई पनि बारम्बार दोहोराएपछि त्यसलाई सत्य सावित गर्न सकिन्छ । दुर्गा र मेरो सन्दर्भमा पनि त्यही प्रकारको गोयवल्स शैलीलाई प्रयोग गर्न प्रयत्न गरेको देखिन्छ । तर, बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको शैलीले केही समयका लागि भ्रमदिन सके पनि अन्तमा त्यो निस्फल नै हुन्छ ।

मिति : २०७६ पौष ५

प्रतिक्रिया