१३ बैशाख २०८१, बिहीबार
Follow Us

माया गर्नुहोस, लण्डनको हेथ्रो विमानस्थलमा नेपाल एयरलाइन्स ल्याण्ड गर्छु : क्याप्टेन बिजय लामा

नेपालब्रिटेन डट कम्
८ पुष २०७६, मंगलवार २१:१९


-विशाल तामाङ

लन्डन । आइतवार बेलायतको अल्दर्षटस्थित एम्पाएर हलमा ख्यातिप्राप्त नेपाली पाईलट बिजय लामा देखा परे । गीति एल्बम ‘समर्पण’ सार्वजनिक कार्यक्रममा उनी मुख्य आकर्षण बनेका थिए । कार्यक्रमलाई संवोधन गर्दै उनले बेलायतको हिथ्रो विमानस्थलमा नेपाली राष्ट्रिय ध्वजावाहक विमान उडाएरै छोड्ने अड्डि लिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम डा। दुर्गा बहादुर सुबेदी र बरिष्ठ पाइलट क्याप्टेन विजय लामाले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरे ।

बिमोचन अन्य कार्यक्रमहरु भन्दा पृथक ढंगबाट गरिएको थियो । जब प्रमुख अतिथि र बिशेष अतिथिलाई स्टेजमा आमन्त्रण गरियो सबै सहभागीहरुलाई उठेर आआफ्नो हातमा रहेको सिडी खोलेर एकसाथ लोकार्पणकालागि आव्हान गरियो । उपस्थित दर्शकले पनि परर ताली बजाए । समर्पण दर्शक र अतिथिबाट एकसाथ विमोचित भयो ।

समर्पण गीति एल्बम शिक्षाका लागि समर्पित रहेको र यो एउटा गीति एल्बम मात्र नरही एक परियोजना रहेको समर्पणका संयोजक सुर्य गुरुङले जानकारी दिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदुत डा। दुर्गा बहादुर सुबेदीले बेलायतमा सयौंको संख्यामा राजनैतिक, सामाजिक, जातिय तथा धार्मिक संघ संस्थाहरु रहेको र बिबिध कार्यक्रमहरुमा आफ्नो उपस्थिति रहँदै आएको बताए । तर यस्ता खाले सामाजिक एबं शैक्षिक पुण्यका लागि आयोजना गरिएको कार्यक्रममा जोडिने अवसर पाउँदा बढि लाभकारि हुनाले कार्यक्रम आयोजक टिमलाइ धन्यबाद दिए ।

‘सिमलको बिज छरे सिमल उम्रन्छ, सालको बिज छरे सालनै उम्रन्छ’ भने जस्तै नेपाली भने पछि विश्वमा जहाँ रहेपनि नेपाली नै रहि रहनेमा उनले जोड दिए ।

आफ्नो भाषा संस्कृति परम्परा र पहिचानलाइ सदा बचाएर राख्नुपर्ने र आफ्नो परिश्रमको थोरै अंश भएपनि आफ्नो मातृभूमिको लागि छुट्याउन पछि नपर्न उनले आग्रह गरे । बेलायतमा बसेपनि यस्तै कार्य गर्न लागिपरेका समर्पण परियोजना टिमको खुलेर प्रशंसा उनले गरे ।

‘समर्पण शिक्षाका लागि’ भन्ने मूल नाराका साथ् सम्पन्न उक्त कार्यक्रमका मुख्य आकर्षण क्याप्टेन विजय लामाले चन्द्र र सुर्य अंकित ध्वजाबाहक बिमान उडाएको ३० औ बसन्त पार गरिसकेको अनुभव सुनाए । आफू आफ्नो पोशाकको सम्मान र त्यसबाट प्राप्त अनुशासनको कारणले नेपाली भएकोमा अति धेरै गर्व गर्ने उल्लेख गरे । नेपाल वायुसेवाको प्रसंग कोट्याउँदै उनले नेपालीहरु आफ्नालाई माया नगर्ने उल्लेख गर्दै भने ‘आफ्नालाई सम्मान गर्न सिक्नुहोआ, मेरो आग्रह छ ।’

नेपाल एयरलाइन्स राम्रो नराम्रो जस्तो भए पनि सम्पूर्ण नेपालीले अपनत्व प्रदान गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘विश्वास राख्नोस, नेपाल एयरलाईन्सलाइ साथ् दिईरहनुस, लण्डनको हेथ्रो विमानस्थलमा नेपाल एयरलालाइन्स लाइ एकदिन म ल्याण्ड गर्नेछु’। उनले यो प्रतिबद्दता गर्दा हल तालीले गुन्जियो । नेपालीहरु भाबुक बने ।

जातजाति धर्म र प्रदेशका आधारमा फुटाएर राजनिति गर्ने स्वार्थ भन्दा माथि उठी नेपाली भएकोमा गर्व गर्नपनि उनले आव्हान गरे । बेलायत नेपाली गोर्खाहरुको एतिहासिक कर्म थलो रहेको र आफ्नो पुर्खाले कमाएको इज्जत बचाई राख्न र नेपाल आमा लाइ सम्झीरहन बेलायत बासीलाइ आग्रहसमेत गरे । यसै क्रममा समर्पण परियोजना टिमको आफु पनि एक हिस्सा भएकोमा गर्वको अनुभूति गरेको सुनाए ।

समर्पणका सदस्यहरु सुर्य गुरुङ, कान्ति गुरुङ श्रेष्ठ, विभा गुरुङ र अनुपलाल श्रेष्ठलाई उनले धन्यवाद् दिए ।

समर्पणका संयोजक सुर्य गुरुङले यस अभियानबाट उठेको रकम नेपालका विभिन्न बिध्यालयहरुमा लगानी गर्ने प्रतिबद्दता ब्यक्त गरे । साथै प्रारम्भिक रुपमा मकवानपुर स्थित देबहित आधारभूत बिद्यालयलाइ सहयोग गर्ने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा बेलायतमा सक्रिय संघ संस्थाहरु एनआरएन युके, बुद्ध फाउन्डेसन युके, तमुधि युके, तामांग सोसाइटी अफ युके, एसीएन वोमन असोसिएसन युके, म्हेंदोमाया समाज युके लगायतका संस्थाबाट आमन्त्रित प्रतिनिधिहरुले क्याप्टेन विजय लामालाइ पुष्प गुच्छा र खादा ओडाई स्वागत तथा सम्मान गरे ।