१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशमै बस्ने श्रीमतिको दवाव थेग्न नसके पछि गायक रामकृष्ण ढकाल गरे सम्बन्ध विच्छेद

नेपालब्रिटेन डट कम्
९ पुष २०७६, बुधबार १४:०४

काठमाण्डौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो।

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।

‘उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,ु जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भने। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो।
रामकृष्ण ढकालले समय नदिएपछि विवाद बढ्दै जाँदा उत्कर्षमा पुगेको जनाउँदै निलमले सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उल्लेख गरेकी छिन्। उनले अदालतमा दायर गरेको निवेदनमा भनेकी छिन् ।

‘विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो।’

गायक ढकाल र शाह बीच २०५९ मंसिर १४ गते विवाह बन्धनमा बाँधिएका थिए। निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले नमानेको अदालतमा बुझाएको निवेदनमा उल्लेख छ।

‘मैले हामीसँग विदेश जाउँ, त्यहाँ हामो भविष्य उज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु। मेरो पेशाको भविष्य पनि नेपाल मै छ भन्नुभयो,’ विवादको कारण उल्लेख गर्दै शाहले निवेदनमा लेखेकी छिन्।

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो।