७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रत्येक सांसदले महिनामा असी हजारभन्दा बढी बुझ्ने

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७३, आईतवार १२:३४

काठमाडौं । व्यवस्थापिका संसदका सदस्यको सेवा–सुविधा दोब्बरले बढाइएको छ । आजको संसद बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित गरेसँगै सांसदको सेवा–सुविधा बढेको हो । सामान्यतया विधेयकलाई संसदीय समितिमा पठाएर छलफल गरी पास गर्नुपर्नेमा सभामुख ओनसरी घर्तीले प्राथमिकतामा राखेर सीधै संसदको पूर्ण बैठकमा छलफल गराई निर्णयार्थ पेश गरेकी थिइन् ।
सरकारले प्रस्ताव गरेको विधेयकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राखेको संशोधन पारित भएको हो । सरकारले विधेयकमा एक दिनको बैठक भत्ता पाँचसय प्रस्ताव गरेकोमा केही सांसद्को आग्रहपछि एकहजार पु-याइएको छ । यसअघि प्रतिसांसदले दुई सय रुपैयाँ बैठक भक्ता पाउथे । मासिकरुपमा पाउँदै आएको ६ हजार ५ सय घर भाडा बढाएर १८ हजार पु-याइएको छ । प्रतिदिन यातायात सुविधा एक हजार दिइने छ । सांसदको दैनिक भ्रमण भत्ता २५ सय तोकिएको छ । दस जनाभन्दा बढी सांसद भएका दलको प्रमुख सचेतकले सवारी सुविधा पाउने छन् । मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँसहित टेलिफोन, पत्रपत्रिका, बिजुली, अतिथि सत्कार शीर्षकमा गरी अव प्रत्येक सांसदले मासिक ८० हजारभन्दा बढि बुझ्ने छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल थाँती राख्दै संसदले सांसदको सेवा, सुविधा बढाउने विधेयक पारित गरेको हो ।

सांसदको सुविधासम्बन्धी विधेयक स्वीकृत
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।
विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताउनुभयो ।