१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसंघमा पौडेल समूहले ४० प्रतिशत माग्नुभो : डा. महत

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ११:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले शुक्रबार गरेका निर्णयका बारेमा कसैलेपनि असहमति राख्नुपर्ने कारण नरहेको स्पष्ट पार्नु भएको छ ।

शनिबार काठमाडौंमा आयोजत साक्षात्कार सहमहामन्त्री महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसंगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकिएको दावी गर्दै भन्नुभयो, ‘शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थिति सदस्यहरुले सर्वसम्मतिले २०७७ फागुन ७ गतेदेखि फागुन १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । यो समग्र पार्टीको चाहना हो ।’

सहमहामन्त्री महतले सोहीअनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिकापनि सार्वजनिक गरिएको बताउनुभयो । शुक्रबारको बैठकले विभागको संख्या थप्नेपनि निर्णय गरेको र बढीभन्दा बढी साथीहरुलाई जिम्मेवारी दिने उद्देश्य राखेको पनि महतले स्पष्ट पार्दै अगाडि भन्नुभयो, ‘यसमा पनि कसैको असहमति हुनुपर्ने कुनै कारण म देख्दिन् । बरु, हिजोको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय गर्न सकिएन् । यसबारेमा केही असहमति बाँकी भएकाले शुक्रबार नेविसंघबारे निर्णय नभएको हो ।’

पार्टीको महाधिवेशनको कार्यतालिकाबारे बरिष्ठ नेता रामचन्द्र पौडेलसँग उपसभापति विमलेन्द्र निधिले छलफल गरेको पनि उहाँले बताउनुभयो । सहमहामन्त्री महतले भन्नुभयो,‘पार्टीको अधिवेशन, विभागको संख्या थप्ने विषयमा उहाँहरुको पनि असहमति र आपत्ति थिएन् ।

उहाँहरुले नेविसंघमा ४० प्रतिशत माग्नुभएको छ, हामी ४९ प्रतिशत दिनपनि तयार छौं । अहिलेपनि केही बिग्रेको छैन् । भातृ संगठनलाई पूर्णता दिनुपर्छ ।’ केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेका निर्णयका बारेमा असहमति गर्ने विषय केही पनि नभएको उहाँको जिकिर गर्दै भन्नुभयो, ‘तरुण दलको ६ महिना म्याद थप गर्ने निर्णय उहाँहरुको पनि हो, विषयलाई ठूलो बनाउनुहुँदैन् । उहाँहरु बैठकमा नआउनुको कारण केही पनि थिएन् । आफू बैठकमा नआउने अनि पार्टीले गरेको निर्णय मान्दिन भन्नुहुँदैन् ।’

उहाँले शुक्रबारको बैठकमा जे निर्णय भएका छन् ती सबै समग्र पार्टी पँक्तिको भावनालाई ध्यानमा राखेर भएको पनि दावी पनि गर्नुभयो । उहाँले पार्टीको अधिवेशनलगायतका विषयमा रहेका सबै अन्यौल पनि हटेको जिकिर गर्नुभयो ।

उहाँले उपनिर्वाचन सम्पन्न भएपछि पार्टीमा फेरि अर्कै परिस्थिति सिर्जना भएको भन्दै यसलाई दुर्भाग्यको संज्ञा दिदै भन्नुभयो,‘आफ्नो असन्तुष्टि र असहमति छ भनेपनि यसको छलफलको थलो केन्द्रीय कार्यसमितिलाई बनाउनुपर्छ । हामी बहस तथा छलफल गरेर नै यो निश्कर्षमा पुगेका हौं ।’ महतले पार्टीको सम्पूर्ण ध्यान अब सरकारले गरेका मनपरि कामको विरोधमा हुनुपर्ने पनि बताउनुभयो ।