१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नागरिकता प्रवाधानप्रति मानवअधिकार आयोगका अध्यक्ष शर्माको असन्तुष्टि

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार १२:४७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमै नागरिकतासम्बन्धी प्रावधान विवादित रहेको भन्दै असन्तुस्टि व्यक्त गरेका छन् । आइतबार राजधानीमा ‘राज्यविहीनताविरुद्ध अन्तर्रा्ष्ट्रिय कानुनहरुको संगालो’को नेपाली संस्करणको विमोचन गर्दै शर्माले नागरिकतासम्बन्धी प्रावधानमा रहेको भेदभावप्रति असन्तुस्टि व्यक्त गरे ।

नागरिकतामा भएको लैंगिक विभेदलाई प्रस्टयाउँदै उनले भने, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ । तर, बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन ।’ वंशजको आधार पुरुषबाट सुरु हुने उल्लेख गर्दै शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र बाबु विदेशी हुँदा वंशज नहुने प्रावधान आफैँमा विभेदपूर्ण रहेको बताए ।

राष्ट्रिय महिला आयोग र महिला कानुन तथा विकास मञ्चको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै महिला कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले आज विमोचन गरिएको पुस्तकले नेपालमा राज्यविहीनहरुले भोग्नुपरेको पीडाविरुद्ध लड्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।