१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको रङ्गमञ्च: विगत र आगत’ लोकार्पण

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७३, सोमबार ०७:४२

संस्कृतिविद् एवं नाटककार डा. सत्यमोहन जोशीले काठमाडौंमा ‘नेपालको रङ्गमञ्च ः विगत र आगत’ नामक नाट्यकृतिको विमोचन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘सातौं बृहत पुस्तक प्रदर्शनी’को दोस्रो दिन नाट्यकर्मी कृष्ण शाह यात्रीले लेखेको उक्त पुस्तक बारे बोल्दै डा. जोशीले भने, “यस नाट्यकृतिमा नेपालको रङ्गमञ्चको इतिहासको बृहत अभिलेखन भएको छ । यो पुस्तक सामान्य पाठकदेखि नाट्यकलामा चासो राख्ने अनुसन्धाता, अध्येताहरुका निम्ति पनि ज्यादै उपयोगी बनेको छ” ।
लोकार्पित पुस्तकबारे समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका नाटक विषयका प्राध्यापक डा. अशोक थापाले भने, “यस पुस्तकले नेपाली रङ्गमञ्चको स्पष्ट र वैज्ञानिक तरिकाले कालक्रम विभाजन गर्नुका साथै कलेज र विश्वविद्यालयमा वर्षौंदेखि अभाव रहेको रङ्गमञ्च विषयको पाठ्यपुस्तकको समेत अभावलाई पुरा गरेको छ ।”
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकका बारे लेखक कृष्ण शाह यात्रीले भने, “यो पुस्तक एक, दुई वर्षको मिहिनेतले मात्र संभव भएको होइन । विगत दुई दशकभन्दा लामो समयदेखि निरन्तर व्यक्तिगत तवरबाट रङ्गमञ्चसम्बन्धी शोध र अनुसन्धानमा लाग्न सक्दा नै यो पुस्तक जन्मिएको हो । यसका लागि विभिन्न समयमा नेपालमा तीन दर्जन जिल्लामा गई स्थलगत अध्ययन समेत गरें ।”
अहिलेसम्म नेपाली रङ्गमञ्च भन्नाले काठमाडौंको गतिविधिलाई मात्र नाट्य समालोचकहरुले अध्ययनको विषय बनाउँदै आइरहेका थिए । यस पुस्तकमा समेटिएको रङ्गमञ्चीय गतिविधि हुने भोजपुर, सुनसरी, सुर्खेत, मकवानपुर, धनुषा, कास्की, नुवाकोट, पर्वत लगायतका मोफसलका २३ जिल्लाका प्रतिनिधिमूलक नाट्य गतिविधिले नेपालको रङ्गमञ्चको क्षेत्र निकै फराकिलो रहेको पुष्टि समेत गरेको छ । यसैगरी पुस्तकमा नेपाली भाषाका साथै मैथिली, नेवारी, थारु लगायतका भाषाको नेपालको नाट्यकलाको समेत विस्तृत रुपमा चर्चा र विश्लेषण गरिएको छ ।
सात खण्डमा विभाजित यस पुस्तकमा रङ्गमञ्चको सैद्धान्तिक स्वरुप, नेपाली रङ्गमञ्चको प्रारम्भिक अवस्था, आधुनिक कालयात्रा, मोफसलको नेपाली रङगमञ्चको स्थिती, नेपाली रङ्गमञ्चका प्रतिनिधि नाटक निर्देशक र कलाकारहरुको नाट्यकर्मको छुट्टाछुट्टै व्याख्या र विश्लेषण गरिएको छ । ‘रिड एण्ड ग्लो रिच’ले आयोजना गरेको ‘नेपालको रङ्गमञ्च ः विगत र आगत’ पुस्तकको विमोचन कार्यक्रमका आयोजक पुण्यप्रसाद प्रसाईले पाँच सय बीस पृष्ठको यो पुस्तक प्रकाशन हुनु नेपाली नाट्य–साहित्यको ठूलो उपलब्धी भएको बताए । साथै उनले मंसीर १२ गते सम्म चल्ने पुस्तक प्रदर्शनीमा यो पुस्तक विशेष छुटमा समेत विक्री गरिने बताए ।
पुस्तकको प्रकाशकीयमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भनेको छ, “यस कृतिका लेखक कृष्ण शाह यात्री स्वयंमा एक उत्कृष्ट नाटककार, निर्देशक र कलाकार समेत हुन् । नेपालमा सर्वप्रथम सङ्केत नाटकको अवधारणा विकसित गर्दै त्यसलाई विश्वसामू प्रयोगमा ल्याउने एक प्रयोगवादी रङ्गकर्मीको पहिचान समेत उनले बनाएका छन् । त्यसैले यो कृति उनको रङ्गमञ्च प्रतिको निरन्तर लगाव, सक्रियता, नवीन सोच र साधनाको प्रतिफल हो । लिच्छवीकालीन, मल्लकालीन हुँदै आधुनिक नेपालको रङ्गमञ्च परम्परा, विकास र प्रयोगबारे यत्तिको विस्तृत, यत्तिको गहन र यत्तिको पूर्ण रुपमा कुनै कृति बनेको छ भने अहिलेसम्मलाई चाहि शायद यै कृति हो भनेर दाबी गर्न सकिने थुप्रै आधारहरु समेत यस कृतिले बहन गरेको छ” ।