१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पोर्चुगलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ विशेष कार्यक्रम सुभारम्भ

नेपालब्रिटेन डट कम्
१७ पुष २०७६, बिहीबार २१:३८

लिस्बन । पोर्तुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण बर्ष-२०२० एक विशेष कार्यक्रम बीच शुरु भएको छ । राजधानी लिस्बनको ब्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण बर्षको प्ले कार्ड र ब्यानर बोकेर भेला भएको सयौं नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिंदै प्रचारप्रसार गरेको कार्यक्रमको संयोजक पत्रकार राजकुमार थापाले बताए ।

जनवरी १ तारिख अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस समेत परेको अवसरमा आआफ्नो शीरमा टोपी सजाएर भेला भएका महिला, पुरुष र बालबालिकाको सहभागिताले भ्रमण बर्षको प्रारम्भलाई अझ विशेष बनाएको थियो ।

कलाकारहरुले नेपाली मौलिक बाजा मादल, मुरली, बाँसुरी बजाउँदै राष्ट्रिय गीतहरु गाउँदा कयौं विदेशीहरुले चाख मारेर कार्यक्रम हेर्दै नेपालको बारेमा जानकारी लिएका थिए ।

भ्रमण बर्ष प्रारम्भ सभामा नेपाली पर्यटन दूत रमेशकुमार गुरुङले नेपाल भ्रमण बर्षको महत्त्व र उदेश्यबारेमा बताउँदै नेपाल भ्रमण गर्न आह्वान गरेका थिए भने एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले पोर्चुगलका गैर आवासीय नेपालीहरुले नेपाल भ्रमण बर्षलाई सफल बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन र संचालन गरेका राजकुमार थापाले भम्रण बर्ष र टोपी दिवसका विविध आयमहरुका बारेमा प्रकाश पारेका थिए ।