१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएको सम्पति र नागरिकताको अधिकार सम्बन्धमा एनआरएन युकेको ८ बुँदे सुझाव

नेपालब्रिटेन डट कम्
२० पुष २०७६, आईतवार २१:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजना तथा गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदको संयोजकत्वमा अल्डरशटस्थित एम्पायर हलमा विषेश अन्तरक्रिया सम्पन्न भयो ।
अल्डरशटस्थित एम्पायर हलमा आइतवार आयोजित एक विषेश कार्यक्रमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा छलफल सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका विज्ञहरुले आआफ्ना विचार राखेका थिए ।

गैरआवासीय नेपाली संघले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा सहभागीहरुले सुझाव दिए । कार्यक्रम संचालन फडिन्द्र भट्टराई र गोविन्द खरेलले गरेका थिए ।


अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावको पूर्ण विवरण

गैरआवासीय नेपाली संघ यूके
एनआरएनको नेपालमा सम्पति र नागरिकताको अधिकारसम्बन्धी अन्तरक्रिया
आइतबार, ५ जनवरी २०२०, अल्डरशट
‘अल्डरशट सुझावपत्र’

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजना तथा गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदको संयोजकत्वमा अल्डरशटस्थित एम्पायर हलमा विषेश अन्तरक्रिया सम्पन्न भयो ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा छलफल सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका विज्ञहरुले आआफ्ना विचार व्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा निम्मनानुसारको अल्डरशट सुझावपत्र जारी गरिएको छ ।

१. नेपालको संविधानको धारा १४ मा उल्लेख भए बमोजिमको गैरआवासीय नेपालीहरुको नागरिकतासम्बन्धी व्यवस्थाले विदेशमा बस्ने नेपालीहरुको आवाजलाई पूर्ण रुपमा सम्वोधन नगरेको धारणा सहभागीहरुको छ । नेपालको संसदमा विचारधिन रहेको नागरिकता ऐनमार्फत विदेशमा वस्ने नेपालीहरुले उठाउँदै आएको नागरिकता निरन्तरताको माग सम्बोधनको लागि आग्रह गरिन्छ ।

२. गैरआवासीय नेपाली ऐन सम्बन्धमा नेपालको नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भई यससम्बन्धी ऐन बनिसकेकोले हालको गैरआवासीय नेपाली सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र त्यसअन्तर्गतका नियमावलीमा भएका कतिपय विषयहरु अस्पष्ट र असान्दर्भिक रहेको सहभागीहरुको सुझाव रहेको छ । अस्पष्ट भएका र कतिपय प्रावधानले समस्या समेत थपेको हुंदा ऐनमा संशोधन भन्दा पनि पुनर्लेखनको लागि नेपाल सरकार समक्ष सुझाव पेश गरिन्छ ।

३. गैरआवासीय नेपाली नागरिकता प्राप्तिको ग्यारेन्टीको लागि संसदीय समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकलाई तत्काल निश्कर्षमा लैजान नेपाल सरकार समक्ष आग्रह गरिन्छ ।

४. भूपू गोर्खा लगायत नेपाली मूलका विदेशी नागरिकले नेपालमा सम्पत्ति खरिद गर्दा र बेचबिखन गर्दा हुने सरकारी झञ्झटलाई सरलिकरण गर्दै नेपालमा आफ्नो नामको चल अचल सम्पत्तिमा हक नगुम्ने र नेपाली नागरिक सरहको स्वामित्व एवम भोगाधिकार लगायतका पूर्ण अधिकार रहने गरी कानुन निमार्ण गर्न यो भेला सम्बन्धित निकाय समक्ष आग्रह गर्दछ ।

५. विदेशमा रहेका नेपाली मुलका विदेशी नागरिकको विदेशमा निधन भएमा उनीहरुको नेपालमा रहेको पैत्रिक सम्पत्ति, अंश, अपुताली, दान एवम बकसबाट प्राप्त सम्पति नेपाली नागरिक सरह भोगचालन गर्न र निजको नेपालमा सम्पति भएमा त्यस्तो सम्पति निजको हकवाला गैरआवासीय नेपाली नागरिकले नेपालमा रहेको सम्पतिसम्बन्धी प्रचलित कानुन बमोजिम विदेशमा ल्याउन पाउने व्यवस्था गर्न आग्रह गरिन्छ ।

६. नेपालमा गैरआवासीय नेपालीहरुको लगानीबाट प्राप्त मुनाफा र त्यसको प्रतिफल फिर्ता लैजाने सम्बन्धमा प्रचलित नेपाली कानुनअनुसार फिर्ता लैजान पाउने व्यवस्था ऐनमा भएको व्यवस्थालाई अझ पारदर्शी र सहज बनाउन आग्रह गरिन्छ ।

७. विदेशमा रहेका तर विदेशी नागरिकता प्राप्त नगरिसकेका गैरआवासीय नेपालीहरुको लागि विदेशबाटै नेपालमा मताधिकारको व्यवस्थाको लागि कानुनी प्रबन्धको लागि आग्रह गरिन्छ ।

८. गैरआवासीय नेपालीहरुसंग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु समयनाकुल संसोधन गर्दै आवश्यक परिवर्तनको लागि पहल गर्न नेपालको संघिय संसदको ध्यानार्कषण गरिन्छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), वेलायत
तथा
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषद, वेलायत

५ जनवरी २०२०

सुझाव संकलन विषेश समिति

चिरन शर्मा
यादव श्रेष्ठ
नरेन्द्र बस्नेत
ध्रुवराज अर्याल
पूर्ण गुरुङ्ग
केशव भण्डारी

कार्यक्रमको फोटो फिचर