१५ चैत्र २०८०, बिहीबार
Follow Us

मनाङ र मछिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७६, सोमबार १६:५२

काठमाडौं । अनुशासन खेलाडीको गहना हो, खेलाडी उत्कृष्ट प्रर्दशन गर्ने क्षमतावान हुनुसँगै अनुशासित हुनु उत्तिकै जरुरी हुन्छ । तर, पछिल्लो समय नेपाली फुटबलका खेलाडीमा अनुशासनहीन व्यबहार देखिन थालेको छ । त्यस्तै भयो, सोमबार दशरथ रंगशालामा जारी सहिद स्मारक लिगमा मनाङ मस्र्याङदी र मछिन्द्रका खेलाडीबीच झडप भएको छ ।

ए डिभिजन लिग अन्तर्गत पाचौँ चरणका खेल सोमबारबाट सुरु भए । लिग अन्तर्गत अंकतालिकाको पहिलो र दोश्रो स्थानमा रहेको मनाङ मस्र्याङदी र मछिन्द्रको खेलमा सबैको ध्यान केन्द्रित थियो । चौथो चरणका खेल सकिँदासम्म दर्शक नपाएको लिगले पाचौं चरणमा भने सर्मथकको साथ पाएको थियो । समर्थक पनि उत्साहित देखिन्थे ।

तर, खेल दुईदुई गोलको बराबरीमा सकियो । खेल सकिन नपाउँदै मैदानमा दुई क्लवबीच कुटाकुट सुरु भयो । भिडन्त बढ्दै गएपछि प्रहरी नै मैदानभित्र गएर खेलाडीलाई छुटाउनुपर्य । खासमा रेफ्रीले अन्तिम सिठ्ठी फुकेलगत्तै मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रको दीपक राईबीच भनाभन हुन पुगेको थियो ।

त्यसपछि बेन्चमा बसेका खेलाडीहरुसमेत मैदानमै उत्रिएर विपक्षी टोलीका खेलाडीमाथि प्रहार गर्न पुगे । झडप हुँदा खेलाडी मात्र नभई, दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए ।

खेलाडीको अनुशासनहीन गतिविधिले खेलको मनोरञ्जन लिन रंगशाला पुगेका समर्थक पनि खिन्न बने । नेपालमा आयोजना हुने ठुला लिगमा मात्रै होईन, मोफसलमा हुने फुटबल लिगमा समेत खेलाडीले अनुशासनहीन गतिविधि देखिन्छ ।