१३ बैशाख २०८१, बिहीबार
Follow Us

लक्ष्मण गौतमले किन त्यागे बेलायती नागरिकता

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार ०३:४९

काठमाडौं । १८ वर्ष बसियो, बेलायत छाडेर आफ्नै भूमि फर्किने निर्णय गरियो । त्यहाँको झिलीमिलीमा भुल्न सकिनँ, यहीँको धुलोमैलो भनेर आइयो । जे छ, आप्mनै देशमा छ, लक्ष्मण गौतम भन्छन् ।
बेलायतमा लाईफ होला, यहाँ जीवन छ । त्यहाँ सुख सुबिधा होला, यहाँ सन्तोष छ । बेलायतमा पैसा होला, यहाँ अभावमा पनि खुशी छ । मन त मेरो नेपाली । यो देश अर्काको हो र नेपाल मेरो देश हो । मलाई बिभिन्न आरोप लगाउन सक्लान् तर नेपाल फर्किनुमा मेरो देश प्रेमबाहेक अर्को कुनै स्वार्थ छैन ।
एक पाईला अगाडी बढ्दा १० पाइला पछाडी तान्ने जमात भएको देश नेपालमा मेरो भोलि चुनौतिपूर्ण छ । तर ति चुनौतीसँग डटेर सामना गर्ने मसँग आत्मविश्वास छ, आत्मबल छ, गौतमले भने ।
म निराश भएर, थकित भएर भोलि फेरि बेलायत नै फर्किनु पर्ने अवस्था आउने छैन । आशा गरौं मेरो वरिपरि भएका ब्यक्ति, नेपाली समाज र सिंगो देशले मलाई नेपालमै स्थापित हुन सहयोग गर्ने छ । म अहिले उमेरले ३६ बर्षको भएँ । आफ्नै देशको ध्वजाबाहक जहाज चढेर म बेलायत आएको हुँ । आज ध्वजाबाहकको बेहाल छ, नेताहरुले बेचेर खाए, काण्ड मच्चाए ।
एउटी ५ बर्ष र अर्की १ बर्षकी छोरी च्यापेर म नेपाल फर्कदै छु । मान्छे जन्मन्छ र मर्छ, यो सृष्टिको नियम हो । तर, सबैभन्दा ठूलो कुरा आफ्नो देश, आफ्नो समाज र आफु जन्मे को माटो हो । मैले त्यतिबेला देश र राष्ट्रियता भनेको बुझेकै थिइँन,
आज म परिपक्क भएको छु । देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबै भन्दा ठूलो कुरा मभित्र जे गरे पनि आफ्नै देशमा नै गर्नुपर्छ भन्ने भावना जागृत भएर आएको छ । सबै युवाहरु बिदेशिए, नेताले नेपाल बर्बाद पारे, यो कटु सत्य हो, तर नेपाल हाम्रो हो, र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ, यही भावनाले म देश फर्केको हुँ ।
देश संघीयतामा जाँदैछ, संघीयताले हाम्रो राष्ट्रिय एकतालाई खलल पुराउने काम गरेको छ । त्यसैले हामी सबैले संघीयताको नकरात्मक प्रभावका बारेमा जनता र नेतालाई समेत बुझाउन खाँचो छ । इमान र नैतिकतामुखी बन्न नेताहरुलाई प्रेरित गर्नुछ, दबाब दिनुछ । जनआवाज सुधारका लागि, संस्थागत विकासका लागि आवश्यक छ । युवाहरु जति सवल भए देश सवल हुनेछ, त्यही क्षेत्रमा काम गर्न म फर्केको हुँ, गौतमको कथन थियो ।