१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा नेपाली सेफहरुको वार्षिक भेला (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२२ पुष २०७६, मंगलवार २२:१४

लण्डन । बेलायतमा कार्यरत नेपाली सेफहरु पनि नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि जुट्ने भएका छन् ।

उनीहरुको प्रतिनिधि संस्था नेप्लिज सेफ एशोसिएसन यूकेले सोमबार लण्डनमा गरेको नयाँ वर्ष शुभकामना साँझमा संस्थाका पदाधिकारीहरुले भ्रमण वर्ष सफल पार्न आफ्नो क्षेत्रबाट पनि सक्दो पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

एशोसिएसनका अध्यक्ष दधि आचार्यले भ्रमण वर्षको प्रवर्द्धनका लागि आफ्नो संस्था र यसमा आबद्ध बेलायतका नेपाली सेफहरु प्रतिबद्ध रहेको बताए । सेफहरुले नेपाली खानाको माध्यमबाट समेत नेपाल चिनाउन सक्ने भन्दै उनले आफुहरु त्यसतर्फ सचेत र सक्रिय रहेको बताए ।
एशोसिएसनका संस्थापक अध्यक्ष तथा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेनाले नेपाल भ्रमण वर्ष सफल बनाउन सबैलाई एकजुट हुन आव्हान गरे । यो वर्ष आआफ्नो परिवार र साथीभाइसंग नेपालको भ्रमणमा जान उनले बेलायतका सम्पुर्ण सेफहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष सफल पार्न सम्पुर्ण नेपाली संघसंस्थाको उत्तिकै महत्व रहने धारणा व्यक्त गरेका थिए । भ्रमण वर्षलाई मात्र नभएर सबै नेपालीहरु सधै सिंगो नेपालकै प्रवर्द्धनमा जुट्नुपर्ने उनको भनाइ थियो ।

आउँदो नेपाली नयाँ वर्षमा नेप्लिज सेफ एशोसिएसन यूके र नेप्लिज क्याटरर्स एशोसिएसन यूकेसंगको सहकार्यमा दूतावासमा नेपाली खाना महोत्सव आयोजना गर्न लागिएको जानकारी राजदूत सुवेदीले दिए ।

कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले नेप्लिज सेफ एशोसिएसनले आफ्नो क्षेत्र र पेशाबाट माथि उठेर समाजसेवा र परोपकारका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएकोमा प्रशंसा गरिन् ।

एनआरएन आइसिसीका निवर्तमान उपाध्यक्ष कुल आचार्य, एनआरएनए आइसिसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई, यती नेपाली एशोसिएसन अध्यक्ष ध्रुव केसी, नेप्लिज क्याटरिङ एशोसिएसन यूके अध्यक्ष विजय थापा, प्रवासी मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल, हाम्रो नेपाली समाज अध्यक्ष गोमा पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि बेलायतस्थित नेपाली रेष्टुरेन्ट र नेपाली सेफहरु नै सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखेका थिए ।

कार्यक्रमको सुरुमा संयोजक एवम संस्थाका उपाध्यक्ष मोहन ओलीले सबैलाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमस्थलमा नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि विभिन्न सामग्रीहरु राख्नुकै साथै मञ्च पनि सोहिअनुसार सजाइएको थियो ।

त्यसअवसरमा हालै एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित एशोसिएसनका संस्थापक अध्यक्ष तिमल्सेनालाई सम्मान गरिएको थियो । संस्थाका सदस्य राजु बोहारालाई प्रवक्तामा नियुक्त गरेको घोषणा पनि गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा कलाकारत्रय सिर्जु अधिकारी, खिमा रोका र खेम पौडेलले रमाइलो लोकदोहोरीसहित विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए भने डिजे हेम विष्टले कार्यक्रमका सहभागीहरुलाई नचाएका थिए ।

यसै बीच संस्थाको प्रवक्तामा राजु बोहोरा चयन भएका छन् ।






तस्विरः नरेन्द्र बस्नेत