१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्कटल्याण्डमा ‘ब्याक अफ इण्डिया’

नेपालब्रिटेन डट कम्
२२ पुष २०७६, मंगलवार २२:१९

लण्डन । स्कटल्याण्डबासी नेपालीले पनि भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणको चर्को विरोध गरेका छन् । एनआरएनए यूके, राज्य समन्वय परिषद स्कटल्याण्डको आव्हानमा सोमबार एडिनबरामा रहेको भारतीय कन्सुलेटको कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष छविलाल अर्यालको नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिसहित स्कटल्याण्डका विभिन्न शहरहरुबाट १ सय २० जनाभन्दा बढि प्रदर्शनमा सहभागी बने ।

प्रदर्शनका क्रममा ‘ब्याक अफ इण्डिया’, ‘नेपालको भूमि फिर्ता गर’, ‘सिमा अतिक्रमण बन्द गर’ लगायतका नारा अकिंत ब्यानर र प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

झण्डै १ घण्टासम्म गरिएको प्रदर्शनका सहभागीले माइकिङ नै गरेर ‘ब्याक अफ इण्डिया’ भन्दै चर्काे नाराबाजी गरेका थिए । उनीहरुमध्ये कैयौं नेपाली राष्ट्रिय झण्डा बोकेर नेपाली राष्ट्रिय पोशाकमै उपस्थित भएका थिए ।


प्रदर्शनपछि बुझाउन खोजिएको ज्ञापनपत्र भने भारतीय कन्सुलेटका अधिकारीहरुले बुझ्न अस्वीकार गरेका थिए । जसलाई अब पोस्टमार्फत पठाइने जानकारी एनआरएनए स्कटल्याण्ड राज्य परिषद अध्यक्ष अर्यालले जानकारी दिए ।

विरोध प्रदर्शनको संयोजन परिषदका उपाध्यक्ष मनिष खत्री र सञ्चालन सचिव दिवाकर पाण्डेले गरेका थिए । यसअघि गत महिना एनआरएनए यूकेले पनि लण्डनस्थित भारतीय हाई कमिसनअघि विरोध प्रदर्शन गरेको थियो ।