२६ बैशाख २०८१, बुधबार
Follow Us

आयरल्याण्डमा नेपाल भ्रमण वर्ष अभियान शुभारम्भ, भ्रमण वर्ष सफल पार्न लन्डन दुतावासको आग्रह

नेपालब्रिटेन डट कम्
२३ पुष २०७६, बुधबार ०५:११

लण्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आयरल्याण्डमा पनि शुभारम्भ भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्ड र नेपाली दूतावास लण्डनको संयुक्त आयोजनामा सोमबार डब्लिनमा भ्रमण वर्ष प्रवर्द्धन अभियानको उद्घाटन गरियो ।

एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले अध्यक्षता गरेको कार्यक्रममा नेपाली दूतावास, लण्डनका तृतीय सचिव तेजेन्द्र रेग्मी प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले नेपाल भ्रमण वर्षलाई सफल पार्न गैरआवासीय नेपाली समुदायको महत्वपुर्ण भुमिका रहने धारणा व्यक्त गरे ।नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाका रुपमा दूतावासले एनआरएनएसंग गर्दै आएको सहकार्यलाई भावी दिनमा थप उचाईमा लैजानुपर्ने विचार रेग्मीले राखे ।

एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले आयरल्याण्डमा भ्रमण वर्षको प्रवर्द्धनका लागि गरिने कार्ययोजनाहरु प्रस्तुत गरे । आफ्नो मातृभुमिप्रतिको कर्तव्य सम्झेर नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्ने अभियानमा साथ दिन उनले आग्रह गरे ।

हालै अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा डब्लिनमा लाखौं आइरिस तथा विदेशीहरुको जमघटमा नेपाल भ्रमण वर्षको लोगोअंकित टोपी र ब्यानरहरुसहित आफुहरु सहभागी बनेको अध्यक्ष छन्त्यालले सुनाए ।

त्यसअवसरमा प्रमुख अतिथि रेग्मीले भ्रमण वर्ष प्रवर्द्धनका लागि एनआरएनए आयरल्याण्ड र दूतावासको समन्वयमा गठित २१ सदस्यीय मुल तयारी समितिको घोषणा गरेका थिए । कार्यक्रममा आयरल्याण्डस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायीसहित कर्क, लिम्रिक, गल्वे, कार्ल तथा पोर्तलिज लगायतका शहरबाट सयौं जना सहभागी थिए । त्यसअवसरमा एनआरएनएमा हालै निर्वाचित युरोप क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने र केन्द्रिय सदस्य विनोद कार्कीलाई बधाईसहित सम्मान गरिएको थियो ।

सोहि अवसरमा नेपाली दूतावासले सञ्चालन गरेको घुम्ती सेवाबाट कैयौंले विभिन्न सेवा तथा परामर्श लिएका थिए ।