११ बैशाख २०८१, मंगलवार
Follow Us

४० कटेसी पाएको साथको अर्थ छैन

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७६, आईतवार ११:४८

सरला सिलवाल, रेडियो कार्यक्रम सञ्चालक

कलाकार बन्ने र धेरैको मनमस्तिष्कमा बस्ने रेडियो कार्यक्रम सञ्चालन गर्ने इच्छा सरला सिलवालको बाल्यकालदेखि नै थियो । कलेज पढ्न पद्मकन्यामा भर्ना भएको अर्को वर्ष उनलाई विवाहको प्रस्ताव आयो । विवाहपछि उनको यात्राले नयाँ मोड लियो । बच्चा हुर्काउने, घर सम्हाल्ने र पार्टटाइम पेसा र व्यवसाय सञ्चालन गर्दागर्दै उनको बाल्यकालको रुचि ओझेलमा प-यो । समय निकालेर विस्तारै सरला आफ्ना ती रुचिलाई पूरा गर्दैछिन् । जीवन संघर्ष र आफ्ना रुचिबारे सरलासँग गरिएको कुराकानी :

० रेडियोमा आबद्धता कहिलेदेखि हो ?
– त्यति धेरै समय रेडियोमा बिताएकी छैन, यद्यपि यो मेरो रहर बाल्यकालदेखिकै हो भने पनि हुन्छ । विविध कारणले समयमै रहर पूरा गर्न सकिनँ, अहिले त्यो रुचिको विषयलाई अगाडि बढाउँदैछु ।

० रेडियो जङ्की बन्ने रहर ?
– रेडियोमा कार्यक्रम सञ्चालन गर्ने र कलाकार बन्न चाहन्थें । कलाकार त अब बन्न सकिन्न होला, तर रेडियोमा कार्यक्रम चाहिँ सञ्चालन गरिरहेकी छु ।

० रेडियोमा के गर्नुहुन्छ ?
– जीवनयात्रा कार्यक्रम सञ्चालन गर्छु । कसैको जीवन पे्ररणादायी हुन्छ, उनीहरूले समाजमा उदाहरणीय काम गरेका हुन्छन्, यद्यपि उनीहरूको चर्चा कसैले गर्दैनन् । तर म उनीहरूको योगदानलाई नेपाली समाजमा चिनाउन चाहन्छु ।

० रुचिको विषयमा के अवरोध आयो ?
– जब म कलेज पढ्थें, रेडियो यति सहज थिएन । कलेजको पढाइ अन्त्य नहुँदै विवाह भयो । रुचिलाई थाती राखेर विवाहपछि घर सम्हाल्नेतिर लागियो ।

० किन छिट्टै विवाह गर्नुभयो त ?
– राम्रो ठाउँबाट कुरा आयो, पढ्ने इच्छा हुँदाहुँदै पनि विवाह गर्न बाध्य भएँ । विवाहपछि पनि अध्ययन र रुचिलाई पूरा गर्न सकिन्छ भन्ठानें । तर सम्भव भएन ।

० राम्रो ठाउँ भनेको ?
– उहाँ अहिले नेपाल प्रहरीमा हुनुहुन्छ । इन्जिनियर अध्ययन सकेर प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । म चाहिँ आईए पढ्न पद्मकन्या क्याम्पसमा भर्ना भएकी थिएँ । अलिकति एज डिफरेन्स भएपछि विवाहको प्रस्ताव मैले नै ओके गरें ।

० एज डिफरेन्स धेरै हो ?
– हाम्रो उमेर ७–८ वर्षको फरक छ ।

० पढाइ अघि बढाउन पाउनुभएन ?
– बीएमा ज्वाइन भएकी थिएँ, बच्चा जन्मने भयो, त्यो अवस्थामा कलेज जान सकिएन । श्रीमान् जहिले पनि बाहिर, विस्तारै घरपरिवारको जिम्मेवारी मैले नै सम्हाल्नुपरेपछि अध्ययन अघि बढाउन सकिनँ ।

० श्रीमान् बाहिर हुँदा कस्तो फिल हुँदो रहेछ ?
– कुनै कुरा सेयर गर्न नपाएपछि सबै भए पनि एक्लो महसुस हुँदो रहेछ । विवाह, भोज अथवा आफन्तका जाँदा बच्चा डो¥याउँदै एक्लै जानुपर्छ । हरेक कार्यक्रममा एक्लो महसुस हुँदो रहेछ । जहिले पनि श्रीमान् साथै होस् भन्ने लाग्छ ।

० देशको सेवामा जुट्नुभएको छ जस्तो लाग्दैन ?
– त्यो पाटोबाट हेर्ने हो भने गर्व लाग्छ । देश र जनताको सेवामा योगदान दिनु सकारात्मक पक्ष हो ।

० द्वन्द्वकालमा कस्तो फिल भयो ?
– हामीलाई चिन्ता हुने कहिल्यै अवसर दिनुभएन । द्वन्द्वकाल सकिएपछि उहाँले भनेका कुरा सुन्ने हो भने आङ सिरिङ हुन्छ ।

० एउटा सुनाउनुस् न ?
– उहाँ त्यसबेला बझाङमा हुनुहुन्थ्यो । एकदमै विकट ठाउँ भएकाले हामी चिन्तित थियौं । मेरो इन्जिनियरिङ फिल्ड हो, हामीले बन्दुक बोक्नु पर्दैन भन्नुहुन्थ्यो उहाँ, तर राति चौकी छाडेर खोलाको ओडारमा बास बस्न जानुपर्दो रहेछ ।

० धन प्रशस्त कमाउनु भएको होला नि ?
– प्रशस्त होइन, खान लगाउन पुगेको छ, बाँड्न त कसलाई पो पुग्छ र ?

० के गरेर कमाउनुभएछ ?
– युएन मिसनमा तीनपटक जानुभयो, जसले गर्दा हाम्रो आर्थिक अवस्था केही सुदृढ भयो ।

० उहाँ कमाउने, तपाईं सम्हाल्ने ?
– हामीले गरेको कामको कुनै मूल्यांकन नगर्ने ? हामीले गरेको चाहिँ काम होइन ? दुवैको सरसल्लाह भयो भने मात्र घर राम्रोसँग चल्छ ।

० के गर्नुभयो त ?
– बच्चा सानो हुञ्जेल स्कुल पढाएँ । आफ्नो बच्चालाई पनि स्कुल पु¥याउँथे, फर्किंदा सँगै लिएर आउँथे । स्कुललाई फुलटाइम दिनुपर्ने भएपछि त्यो पेसा पनि छाडें ।

० त्यसपछि ?
– त्यसपछि होस्टल व्यवसाय सञ्चालन गरें । त्यो व्यवसाय पनि राम्रैसँग सञ्चालन गरेकी थिएँ । पछि स्वास्थ्यमा समस्या आएपछि त्यो पनि छाडे ।

० सन्तान कति भए ?
– दुई छोरा छन्, ठूलो आईटी पढ्दैछ, सानोले यो वर्ष एसईई दिनेछ ।

० घरमा पनि प्रहरी शासन हो ?
– छैन । प्रहरीजस्तो व्यवहार हामीले अहिलेसम्म महसुस गर्न पाएका छैनौं । एकदमै सकारात्मक सोच छ उहाँमा ।

० प्रहरीसँग जीवन बिताउन कठिन हुँदो रहेनछ ?
– परिवारको भन्दा पनि देशको सेवामा उहाँ जुट्नु भएको छ । प्रायः बाहिर गइराख्नुपर्ने, प्रहरी जनताको सेवामा जुटिराख्नुपर्छ । तर आफूलाई सहयोग चाहिने बेलामा एक्लो महसुस हुँदो रहेछ । ४० कटेसी पाएको साथ र सहयोगको अर्थ खासै हुँदो रहेनछ ।