१५ बैशाख २०८१, शनिबार
Follow Us

पोखरामा बस्ने एनआरएन बैठकको यस्ता छन् एजेन्डा

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७६, मंगलवार ०८:४१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक आउँदो शनिबार र आइतबार पोखरामा बस्दैछ । जनवरी १८ र १९ मा बस्ने बैठकले ९ औं विश्व सम्मेलनमा निर्वाचित नयाँ कार्यसमितिले यसअघि गरेको निर्णयलाई कार्यान्वयन गर्ने महासचिव डा. हेमराज शर्माले बताए ।

देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधिलाई प्रदेशहरुसम्म पु-याउन पहिलो पटक संघको बैठक केन्द्रीय राजधानी काठमाडौं बाहिर आह्वान गरिएको महासचिव डा. शर्माको भनाइ छ । उनले भने, ‘नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले यस वर्ष संघका गतिविधि नेपाल केन्द्रित नै हुने भनी गरिएको प्रतिवद्धता अनुरुप यो बैठक पोखरामा आयोजना गरिएको हो ।’

संघका आन्तरिक बैठक मात्रै नभई संघद्वारा आयोजना गरिने अधिकांश गतिविधिमा पनि नेपाल केन्द्रित हुने उनले बताए ।

छलफल ९ मुख्य एजेन्डा यस्ता छन्–

१. ‘प्रदेशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गरिनेछ ।

२. संघले अघि सारेका मुख्य विषयहरु (१० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तीको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायत) का सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग छलफल र परामर्श गरिनेछ ।

३. हालसम्म संघको सम्मेलनहरु विभिन्न होटलहरुमा गरिँदै आइएकोमा दोश्रो विज्ञ सम्मेलन भने काठमाडौं विश्वविद्यालयमा आयोजना गर्नेबारे विश्वविद्यालयका उप–कुलपति लगायतका उच्च–पदाधिकारीसँग भेटघाट गर्ने सम्बन्धमा छलफल गरिनेछ । जसले सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितामुलक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

४. दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय, त्रिभुवन विश्वविद्यालय,पोखरा विश्व विद्यालय,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा बहस गरिनेछ ।

५. गैरआवासीय नेपालीहरुको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन गर्न संघको तर्फबाट नेपाल सरकारलाई सुझाव पेश गरिनेछ ।

६. वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गरिनेछ ।

७. संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डिडिए) गराइएको छ । एमआईएस सिष्टम लगायत सिष्टम अडिट रिपोर्ट पनि तयार हुँदैछ । डिडिए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने विश्वास हाम्रो छ । तसर्थ यस बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबार घनिभूत छलफल गरिनेछ ।

८. गत निर्वाचनमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन व्यवस्थित बनाउन ठूलो कसरत गर्नुपरेको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ । सोही सम्बन्धमा समेत यो बैठकमा विशेष छलफल गरिनेछ । अर्कोतर्फ आर्थिक पारदर्शिता तथा निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले संघको विशेष महाधिवेशन बोलाउने निर्णय समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको तयारीको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

९. पोखरा बैठकमा संघका विभिन्न विभागका प्रमुख र समुतिका संयोजकहरुले यस कार्यकालको कार्ययोजनाहरु प्रस्तुत गर्नु हुनेछ । यसको आधारमा वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरिनेछ । संघका समिति र कार्यदलहरुलाई पूर्णता दिईने छ ।