१४ बैशाख २०८१, शुक्रबार
Follow Us

किन विवाद छ एनआरएनए अष्ट्रियामा?

नेपालब्रिटेन डट कम्
२९ पुष २०७६, मंगलवार १८:१७

रविचन्द्र भट्टराई

गैरआवासीय नेपाली संघ अष्ट्रियामा समस्या छ । यो जगजाहेर नै भईसकेको छ । तर समस्या के हो ? समस्या छ पनि, छैन पनि भनेजस्तो देखिन्छ । वास्तवमा भन्ने हो भने केटाकेटी खेलेजस्तोगरी समस्या छ मात्रै भनेर हुन्छ ? के छ त समस्या, अथवा समस्या नै छैन, बुझ्नको लागि एनआरएन अष्ट्रियाको ईतिहास खोतल्नै पर्दछ । सतहिरुपमा यसले यसो गर्यो, उसले यसो भन्यो भन्ने समस्या होईन । यि त मानवका गुण हुन् एकले अर्कालाई दोष देखाउने ।

धेरैबेरसम्म सुतेर बसेको एनआरएन अष्ट्रियामा नयाँ चहलपहल हुँदैगर्दा डा. समिर केसी अध्यक्ष हुनुहुन्थ्यो र डा. दीपक ढुंगाना महासचिव हुनुहुन्थ्यो । कामको सिलसिलामा डा. समिर अष्ट्रिया भन्दा बाहिर धेरै बस्नुपर्ने भएपछि उहाँले नैतिकताको आधारमा आफ्नो कार्यभार उपाध्यक्षलाई छाडेर राजिनामा दिनुभयो । डा. समिरले कुनैपनि छलफल गर्दा कार्यसमितिको ईज्जत गरेर, सबैलाई सोधेर छलफल गरेर काम गर्नुभएको हुनाले कार्यसमितिमा एकरती पनि वादविवाद हुन्थेन ।

तत्कालिन उपाध्यक्ष श्री मुक्त गुरुङ्गलाई कार्यसमितिले सजिलै अध्यक्षको रुपमा स्विकारेको थियो । दुई पटक कार्यसमितिको महासचिव हुनुभएका डा. दीपक ढुंगाना लगायतको कार्यसमितिले पुरै सहयोग गरेको थियो । एकजनापनि बिपक्षको भन्ने नै थिएन । हरेक निर्णयमा एउटै आवाज हुने गरेको थियो ।

एनआरएनए एउटा यस्तो बृहत स्वरुप भएको संस्थाहो जुन फाट्यो भने संस्थासंग सम्वन्धित समाज पनि फाट्छ । त्यतिखेर एकदुईजनाले बाहिरबाट चलखेल गरेपनि एनआरएनए कार्यसमितिमा कुनै विवाद थिएन । फलस्वरुप नेपालमा गएको भूकम्पको बेलामा सबै नेपाली एकजुट बनाउन एनआरएनए अष्ट्रिया सफल भएको थियो ।

त्यसबखत् विभिन्न चरणमागरी एनआरएनए अष्ट्रियाले अन्तर्राष्ट्रिय समन्वय परिषदलाई ६५ लाख रुपैंयाँ पठाउन सफल भएको थियो । त्यसको श्रेय त्यसभन्दा अगाडिका कार्यसमितिलाई पनि जान्छ जसले एनआरएनएलाई विवादरहित राख्न सफलभएका थिए । अहिलेको जस्तो विवाद भएको भए त्यो सहयोग गर्न सोच्न पनि सकिन्थेन ।

त्यसपछि अर्को कार्यसमितिको लागि निर्वाचन घोषणा भयो जसले विभिन्न गुटहरुको जन्मदियो, विवादहरु स्थापना गरायो । त्यस निर्वाचनले एनआरएनएमा अहिलेसम्मकै सवैभन्दा ठूओ हलचल गराएको थियो । एनआरएनए अष्ट्रियामा पहिलो पटक भोट खरिद गर्ने, गुटवन्दी गर्ने, षड्यन्त्र गर्ने, खुट्टा तान्ने प्रवृतिले प्राथमिकता पायो ।

कसैले मानुन् या नमानुन् त्यो आफ्नो ठाऊँमा छ, तर एनआरएनए अष्ट्रियामा खुल्ला रुपमा दुईफाटो भएको त्यहि निर्वाचनबाट हो । जसको परिणाम र समस्याहरु बढ्दैबढ्दै आजसम्म यो अवस्थामा आईपुगेको छ ।

तरपनि निर्वाचित अध्यक्षले निर्वाचनपछि सबैलाई समेटेर लैजान हदैसम्मको लचकता अपनाउनु भएको थियो । निर्वाचन अगाडिका तीतामीठा सबै भुलेर सबैलाई समेट्ने कोसिस गर्नुभएको हो । बिडम्बना निर्वाचनमा हार व्यहोरेको अर्को पक्षले त्यो स्विकारेन र कार्यसमितिमा पुगेका केहिको साथले गर्दा एनआरएनएको पुरै कार्यकालमा समस्या देखियो । तर त्यस कार्यसमितिले एनआरएन अष्ट्रियालाई केन्द्रबाट टुटिसकेको सम्वन्धलाई फेरि जोड्न सफल भएको थियो ।

आफूले नजितेपनि कार्यसमितिमा समस्या नहोस् भनेर कार्यसमितिलाइ सक्दो सहयोग गर्ने श्री बुद्दि बहादुर तामाङ्गको जस्तो उदाहरण यो अष्ट्रियाको निर्वाचनमा अरु कसैले पनि दिन सकेका छैनन् । अष्ट्रियाको मुख्य समस्या नै त्यहि बन्यो । हारेपछि जितेकोलाई कसरि भत्काउने ।

त्यसपछि आएको अर्को कार्यसमितिमा पनि नेपालमा भोट खरिदबिक्रि भएको समस्याले उग्ररुप लियो । कार्यसमितिले लुकाउने कोसिस गर्यो तर समस्या छरप्रष्ट भैसकेपछि केन्द्रिय कार्यसमितिले विघटन गरिदिने धम्किको आधारमा मिलाउने प्रयास भयो । समस्याको समाधान चाहिं हुनै पाएन। गुट र उपगुट झन् मजबुद र समस्याग्रस्त बन्दै गयो । विवादै विवादमा कार्यसमितिको कार्यकाल सकियो ।

त्यसपछि भएको यस वर्तमान कार्यसमितिको निर्वाचनमा पूर्णरुपले अनियमितता अपनाईएको थियो । निर्वाचनका नामावली तयारपार्ने हर्ताकर्ता नै निर्वाचनमा सहभागी थिए । एकातिर कांग्रेस समर्थनको प्यानल बन्यो भने अर्को कम्यूनिष्ट समर्थनहरुको प्यानल बनेको थियो । तर निर्वाचन गराउनेहरुको आफ्नै प्यानलले अप्रत्यासित रुपमा हार व्यहोर्नु पर्यो ।

निर्वाचन परिणाम घोषणा गर्नु अगाडि नै भियना बाहिरको निर्वाचन पून गराउनु पर्ने भन्दै महासचिवले परिणाम नस्विकार्ने निवेदन दिनुभएको थियो । आफूले जितेको थाहापाऊँदा पनि परिणाण नस्विकार्नुको कारण एउटैमात्र थियो, अध्यक्ष र आईसीसी लगायत अरु साथीहरुको पराजय ।

निर्वाचन कमिटिले वर्तमान महासचिवले त्यहि निवेदनको आधारमा नै निर्वाचन परिणाम घोषणा गर्न रोकिदियो तर भोलीपल्ट निर्वाचन पून गर्नुपर्ने कुनै कारण नदेखेपछि वाध्यभएर वर्तमान अध्यक्ष लगायतको टिमलाई निर्वाचित घोषणा गर्यो ।

त्यसपछि आएको नयाँ कार्यसमितिमा भएका गाली गलौज, निष्कृयता, षड्यन्त्र, भनाभन, स्पष्टिकरण लगायत भर्खरै आएको अबैधानिक विज्ञप्ती सतहीरुपमा देखिने बनावट मात्रै हुन् । त्यसलाई मजजल गर्ने असन्तुस्ट पक्षहरुले आफ्नो फाईदाका लागि खेल खेलीरहेका छन् ।

वर्तमान कार्यसमितिमा एउटा पक्ष यस्तो छ जुन यस कार्यसमितिमा कृयाशील भएर कृयाकलाप गर्न नै चाहँदैन । जति नै नाटक गरेपनि हिजोदेखिका कृयाकलाप नियालेर हेर्ने हो भने सबैथोक छर्लङ्ग हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने पछाडि लुकेर बसेको एउटा समूह समाजलाई दुई टुक्रामा विभाजन गर्न तल्लिन रहेको देखिन्छ । त्यसमा केहि सल्लाहाकार अथवा संरक्षकको पद पाईन भनेर खेदो खन्नेहरुले पनि साथ दिईरहेका छन् ।

त्यसैले उसले यसो भन्यो, गाली गर्यो अथवा मानहानी गर्यो, कार्यक्रममा कृयाशील नै भएन, अर्को संस्था खोल्यो, गोपनियता हनन् गर्यो जस्ता समस्याहरु समस्या नै होईनन् । यि समस्याका जडहरु आजको कार्यसमिति नै होईन । त्यसैले यो मिलाएर मिल्छ भनेर सोच्नु नै गलत हुन्छ ।

यि समस्याका जडहरु हिजो अस्ति देखिका एनआरएनएका उम्मेदवारहरु हुन् । जसले अरुको जितलाई सहजै स्वीकार्न सकेनन् र षडयन्त्रमा लागिरहे । हार स्वीकार गर्न नसकेर जितेकालाई षडयन्त्रको भुमरीमा धकेल्न कार्यसमितिका अरु साथीहरुलाई समेत भ्रम छरेर कृयाकलाप गर्नेहरु विस्तारै नाङ्गिनु पर्छ । जितेकालाई समर्थन र स्वीकार गर्न नसक्नु एनआरएनए कै सिद्धान्तको विपरित हो । एनआरएनएको केन्द्रिय विधानको विपरित हो ।

एनआरएनए कसैको पनि आफ्नो होईन । एकदिन यसको चावीताल्चा अर्कोलाई बुझाउनै पर्छ । हिजोको कार्यसमितिमा भएका गल्ति फेरि दोहोरिनु राम्रो होईन । भर्खरै आएको कार्यसमितिमा कुनैपनि राजनैतिक दवाव छैन । यदि कसैले त्यो भन्छ भने झुट र षडयन्त्रको प्रोपोगाण्डामात्र हो । गैरआवासीय नेपाली संघ अष्ट्रियामा हारेकाले जितेकालाइ स्वीकार्न सकेको भए आजपनि एनआरएन अष्ट्रिया डा. समिर केसीको अध्यक्षको पालामा जस्तै हुन्थ्यो ।

एनआरएनए अष्ट्रियाको समस्या जितेकालाई स्विकार्न नसक्नुले जन्मिएको हो । अरु समस्या सबै त्यसबाट जन्मिएका बाहाना हुन् । नाटक हुन् । निर्वाचन एउटा प्रजातान्त्रिक पद्दति हो भन्ने नबुझेपछि यस्ता समस्याहरु ठूला देखिन्छन् । यसलाई बढाउनु चढाउनु विवेकशील मनहरुको लागि राम्रो होईन ।

अब एनआरएनए अष्ट्रियालाई हारेकाहरुको षड्यन्त्रमा मिलेर भताभुङ्ग बनाउने कि, जितेकाहरुको साथमा छलफल गरेर सामाजिक कृयाकलापमा लाग्ने ? कार्यसमितिमा रहेका आधिकारिक व्यक्तिहरुले सोच्नुपर्दछ । पछाडि बसेर षडयन्त्र गर्ने जो कोहि भएपनि कार्यसमितिले ख्याल गर्नुहोला अन्यथा एनआरएनए अष्ट्रिया फेरि अंधकारमा धकेलिने अवस्थामा छ ।

यतिखेर युरोप संयोजकले एनआरएनए अष्ट्रियाका पूर्व अध्यक्षहरुलाई मिलाउने जिम्मा दिएपनि त्यो संभव देखिन्न किनभने यो समस्या यहि कार्यकालको होईन भन्ने सबैलाई प्रस्ट भईसकेको छ । यो समस्याको जड अहिलेको नभई तिन कार्यकालको तीतो चुनावी कृयाकलापले जन्माएको हो । ति सबै मतियारहरु जवसम्म पर्दा पछाडि बसेर चलखेल गरिरहनेछन् एनआरएनए अष्ट्रिया सानासाना किचकिचाहटमा रुमल्लि रहनेछ ।

(यी लेखकका निजी विचार हुन्)