१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकी धनी छन्, नेपाली खुसी छन्

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार ०५:१२

बारबरा कुलर, पर्यटक (अमेरिका)

अमेरिकामा नेपालीहरूले आयोजना गर्ने कार्यक्रममा एकजना अमेरिकी नागरिक प्रायः देखिन्छिन् । उनी हुन् बारबरा कुलर । अमेरिकामा हुँदा नेपालीहरूसँगको हिमचिमले उनलाई नेपाल घुम्न रहर जाग्यो । त्यसैले उनी यतिबेला नेपाल भ्रमणमा छिन् । धादिङको ग्रामीण क्षेत्र र केही हिमाललाई नजिकबाट नियालेपछि उनले भनिन्, ‘नेपाल साँच्चिकै सुन्दर, नेपाली हृदयदेखि खुसी छन् ।’ नेपाल भ्रमणका क्रममा उनले भोगेको अनुभव बारबराले कुमार राउतसँग गरेको कुराकानी ः

० कुन प्रयोजनका लागि नेपाल आउनु भएको हो ?
– अमेरिकामा मेरो नेपालीहरूसँग सरसंगत छ, त्यसैले म वास्तविक नेपाल धित मरुन्जेल हेर्न चाहन्थें । र, त्यही सिलसिलामा नेपाल आएकी हुँ ।

० कस्तो लाग्यो त नेपाल ?
– सुन्दर नेपालको बयान म कसरी गरुँ ? म लेखक पनि हुँ, यसलाई अमेरिका पुगेपछि शब्दमा उतार्छु । मैले प्राकृतिक सौन्दर्य र हिमाल मात्र हेरेको छैन, यहाँका वास्तविक नेपालीलाई पनि भेटेको छु ।

० वास्तविक नेपाली को रहेछन् ?
– धेरै छन्, दुईवटा मात्र उदाहरण दिन्छु । एउटा रक्षा नेपालकी मेनुका थापा र अर्की नेपाली कांगे्रसकी सांसद सुजाता परियार ।

० के रहेछन् उनीहरू ?
– मेनुकाले यौन हिंसामा रहेका नेपाली चेलीहरूको संरक्षण गरेकी रहिछन् । उनीहरूको दर्दनाक कथा सुनेर मेरो मन भक्कानियो । त्यसैगरी नीति निर्माण तहमा पुग्नुभएकी सुजाताबाट नेपालमा छुवाछूतबारे जानकारी पाएँ ।

० ग्रामीण महिलाहरूलाई भेट्नुभएन ?
– भेटें, किन नभेट्नू ? उनीहरूसँगको रमाइलोपन, स्वागत सत्कार गर्ने तरिका, हँसिलो मुहारबाट म एकदमै प्रभावित भएँ ।

० अमेरिकी महिलासँग दाँज्न मिल्छ ?
– जुनसुकै ठाउँको आ–आफ्नै विशेषता र महत्व हुन्छ, त्यसलाई दाँज्नुभन्दा पनि राम्रो कुरा ग्रहण गर्नुपर्छ । समग्रमा दाँज्दा यहाँका महिलाहरू हृदयदेखि नै खुसी छन् । अमेरिकी महिलाहरू धनी छन्, व्यस्त छन्, खुसी छैनन् ।

० अमेरिकामा महिलालाई राष्ट्रपति बनाउन सक्नुभएन नि ?
– हामीकहाँ लैंगिकताभन्दा पनि एन्जेडा महत्वपूर्ण हुन्छ । हिलारी क्लिन्टनको भन्दा ट्रम्पको एजेन्डा सशक्त देखियो । त्यसैले लंैगिकताले सहानुभूति पाएन ।

० ट्रम्पस्ँग त्यस्तो के विशेषता थियो ?
– ट्रम्प राजनीतिक लिगेसी भएका व्यक्ति होइनन्, अमेरिकी राजनीतिमा छोटो समयमै लोकप्रियता हासिल गरेका ट्रम्पसँग व्यवस्थापनको क्षमता छ । जसरी उनी व्यापारमा सफल भए, त्यसैगरी देशको व्यवस्थापन पनि उनले सफलतापूर्वक सम्हाल्छन् भन्ने अमेरिकी जनताको अपेक्षा हो ।

० ट्रम्पले राष्ट्रपति पदमा जिते पनि विरोध भयो नि ?
– अमेरिकाको जे वास्तविकता हो, त्यो उनले बोलिदिए । वास्तविकता जहिले पनि तीतो हुन्छ । तीतो सबैलाई पच्दैन ।

० लंैगिक विषयमा छलफल हुँदैन ?
– अमेरिका खुला समाज हो, छोराछोरीमा कुनै कुरामा विभेद गरिनु हुँदैन । विभेद नभएपछि छलफल गरिराख्नु आवश्यक हुँदैन होला ।

० विभेद कसरी अन्त्य भयो ?
– छात्रालाई गणित र विज्ञान विषय पढ्न पे्ररित गरिन्छ । यसलाई प्याकेजकै रूपमा राज्यले अघि सारेको छ । विशेषतः यी विषय पढेका विद्यार्थीले धेरै अवसर पाउँछन् । अन्य क्षेत्रमा अघि बढ्न पनि यी विषयले धेरै मद्दत दिन्छ भन्ने मलाई लाग्छ ।

० नेपालमा विभेद अन्त्यका लागि के सुझाव दिनुहुन्छ ?
– विभेदको अन्त्य शिक्षा र अवसरले मात्र गर्न सक्छ । छात्रा शिक्षालाई अमेरिकामा जस्तै गणित र विज्ञानको प्याकेज सिस्टमलाई आत्मसात गरियो भने विभेद अन्त्य हुन धेरै समय लाग्दैन ।

० नेपालको विभेद अन्त्यका लागि केही गर्न इच्छुक हुनुहुन्छ ?
– मैले नेपालबाट केही चाहेको छैन, तर केही दिन चाहन्छु । तर त्यसका लागि तत्काल मैले कुनै योजना बनाएकी छैन । नेपाल भ्रमणमा मैले देखेका र अनुभव गरेका कुरालाई संलग्न गरेर अमेरिका पुगेपछि योजना बनाउँदैछु ।

० यी भन्ने कुरा मात्र हुन् कि ?
– अमेरिकनहरू जे बोल्छन्, त्यो पूरा गर्छन् ।

० अमेरिकी समाजमा डिभोर्सका घटना बढी किन हुन्छ ?
– व्यक्ति स्वतन्त्रतालाई बढी महत्व दिइन्छ । कसैको दबाब वा करकाप सहनुपर्छ भन्ने छैन । जोडी बाँधिने र छुट्टिने सजिलै सकिन्छ । हामीकहाँ विकल्प पनि अनेक छन्, त्यसले गर्दा पनि सम्बन्ध विच्छेदका घटना धेरै हुन्छन् ।

० विकल्प भन्नाले ?
– आज एउटालाई छाड्यो भने भोलि त्योभन्दा राम्रो अर्को पाइन्छ । फ्रिजमा एउटै समान धेरै राख्यो भने बिग्रिन्छ, त्यसलाई छिटो उपभोग गर्नुपर्छ र अर्को ल्याउनुपर्छ भन्ने मान्यता अमेरिकी युवामा पाइन्छ ।

० त्यो राम्रो हो त ?
– राम्रो नराम्रो आफ्नो ठाउँमा होला, तर व्यक्तिगत स्वतन्त्रता महत्वपूर्ण ठानिन्छ ।

० तपाईंले पे्रम विवाह गर्नुभएको हो ?
– हो, ऊ मेरो कलेजमेट हो । कलेज अध्ययनको सिलसिलामा हाम्रो भेट भयो । हामीबीच पे्रम सम्बन्ध भएको डेढ वर्षपछि विवाह भइहाल्यो । बाबाले मेरो विवाहका लागि एउटा डाक्टर केटो खोज्नुभएछ, त्यसलाई छल्न पनि पढाइ नसकिँदै म विवाह बन्धनमा बाँधिएँ ।

० त्यसपछिको पढाइ ?
– विवाहपछि भटाभट सन्तान जन्माउन थालेँ । दस वर्षको अवधिमा पाँच छोरा जन्माएँ । सन्तानको पालन पोषण गर्दागर्दै अध्ययनलाई निरन्तरता दिन सकिनँ ।

० किन यति धेरै सन्तान ?
– भगवानले दिएको भन्नुपर्ला । यसमा एउटा तथ्य पनि जोडिएको छ । हाम्रो परिवारको धेरै सन्तान दोसं्रो विश्वयुद्धमा मारिए । म एउटी छोरी थिएँ, परिवारले मबाट धेरै सन्तानको अपेक्षा गरेको थियो ।

० छोराहरू के गर्छन् ?
– सबैको आ–आफ्नै परिवार, पेसा र व्यवसाय छ । एउटा छोरा चाहिँ समलिंगी निस्कियो । आफ्नो सन्तान मलाई त माया लाग्छ, तर बाबाले त्यो छोरालाई मन पराउँदैनन् ।

० श्रीमान् श्रीमतीबीच झगडा हुन्छ ?
– जीवन हो । लडाइँ, झगडा, वादविवाद, मायापे्रम भएन भने त कसरी घरसंसार चल्छ ? जीवनलाई डो¥याउन पनि यी कुरा आवश्यक पर्छ होला जस्तो लाग्छ ।