१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिडल्याण्डमा एनआरएनएको भेला (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार ०८:१९

लण्डन । गत सेप्टेम्बरमा सम्पन्न एनआरएनए यूकेको निर्वाचनका क्रममा धेरैको चासो र चर्चा कमाएको मिडल्याण्डमा निर्वाचनपछि पहिलोपटक सोमबार फेरि एकपटक एनआरएनएको माहोल देखियो ।

निर्वाचनमा सहयोग गर्ने र सहभागी हुनेहरुलाई धन्यवाद दिन भन्दै आयोजना गरिएको कार्यक्रममा निर्वाचन जित्ने र हार्ने दुवै समुहका उम्मेदवारहरु पनि पुगे ।
साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले एनआरएन अभियानमा मिडल्याण्डको सक्रिय उपस्थितिका लागि धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले वर्तमान कार्यसमितिले आम मतदाताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्ने कोशिस गरिरहेको बताए । संस्थाबारे पूर्वाग्रही रुपमा नकारात्मक सोंच मात्रै नराख्न र सुधारका कोशिसहरुलाई साथ दिन भट्टराईले आग्रह गरे ।

उपाध्यक्ष नारायण कँडेलले गत निर्वाचनमा मिडल्याण्डले बुद्धिमतापुर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

एनआरएन यूके अध्यक्षमा पराजित उम्मेदवार शेरबहादुर सुनारले आफुलाई मत दिने सबैलाई धन्यवाद दिंदै सबैको साथ, सहयोग रहे फेरि पनि निर्वाचनमा गएर संस्थाको जिम्मेवारी लिन पछि नहट्ने बताए ।

एनआरएनए आइसिसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षका पराजित उम्मेदवार पशुपति पोखरेल, सहकोषाध्यक्षमा पराजित विष्णु चालिसे लगायतले सामाजिक संस्थामा निर्वाचनको हारजीत गौण विषय रहने भन्दै एनआरएन अभियानमा मिडल्याण्डले जनाएको सशक्त भुमिकालाई आगामी दिनमा थप बलियो बनाउँदै जाने प्रतिबद्धता गरे ।

साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले मिडल्याण्डले कुनै पात्र वा समुह विशेषलाई मात्र नभएर सिंगो एनआरएन अभियानलाई प्रवर्द्धन गर्दै जाने बताए ।

कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष सुनिलबाबु खड्का, आइसिसी मानार्थ परिषद सदस्यहरु विनोद ज्ञवाली, रण केसी र चिरन शर्मा, आइसिसीका सदस्य ललितकुमार न्यौपाने र पूर्व सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठसहित एनआरएनए यूके र इंग्ल्याण्ड राज्य परिषदका पदाधिकारी, मिडल्याण्डस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायतको पनि सहभागिता थियो ।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका कलाकारत्रय सिर्जु अधिकारी, खेम पौडेल र सन्ध्या बुढा (काउली बुढी) ले मनोरञ्जनात्मक लोकदोहोरी र प्रहसन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको पहिलो चरण एनआरएनए इंग्ल्याण्ड राज्य परिषद सचिव गोविन्द खरेल तथा दोस्रो चरण गजलकार गीतकार नृपेश उप्रेतले सञ्चालन गरेका थिए ।