७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘नेपाली हुने मन छ’

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार १४:५०


खिलक बुढाथोकी

ओस्लो (नर्वे)–वेलायतका नागरिक हुन् उनी । अलेक्जेन्डर सोलोकोम्बे उनको नाम । नर्वेको ओस्लोमा बस्ने उनको मनचाँही नेपालमा छ । त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स् नेपाली राखेका छन् । नेपालको प्रमोशन गर्न नेपाली गीत गाउँदै गरेको भेटिन्छन् ओस्लोतिर ।
संगीत बच्चैदेखिको रुची हो उनको । सयौं अंग्रेजी गीत अलेक्जेन्डरले गाएका छन् । तर, नेपाली गीत गाउन थालेकोचाँही नेपालसँग माया बसेपछि हो । वेलायत छोडेर आफ्नी प्रेमीकासँग नर्वेमा बस्दै आएका उनी सबै छोडेर नेपालमा बस्न चाहान्छन् ।
केही वर्ष उनी फ्रान्समा पनि बसे । भारतलगायतका एसियाका मुलुकको पनि भ्रमण गरेका छन् । उनी पुगेका दर्जनौं देश र आफ्नो जन्मभुमी भन्दा प्यारोचाँही नेपाल लाग्छ ।


‘सन् २०१२ मा घुमघामको सिलसिलामा नेपाल पुगेँ,’ अलेक्जेन्डरले भने, ‘त्यसयता प्रत्येक वर्ष नेपाल पुग्ने गरेको छु, किनकी मलाई संसारको प्यारो ठाउँ नेपाल लाग्छ ।’ प्रत्येक वर्ष नेपालमा करिब ४ महिना (भिसा अवधि)सम्म बस्छन् । नेपाल रहँदा उनी घुमघामदेखि नेपाली संस्कृतिसँग घुलमिल र गाउँगाउँमा गएर स्वयसेवाको काम गर्छन । ‘मलाई नेपाली कल्चर र नेपालीहरुको स्वभाव सारै मन पर्यो,’ उनले भने, ‘नेपालको माया यसरी मनमा अमिट भयोकी नेपालको माया त कति लाग्न थाल्योथाल्यो ।’ ४० वर्षको नजिक रहेका अलेक्जेन्डरले सन् २०१२ यता नेपालमा ४० महिना जति वित्याएका छन् । त्यो अवधि मध्ये १० महिना जति त स्वयसेवामा वित्याएको उनी बताउँछन् ।

उनी सबैभन्दा बढी समयचाँही पोखरा र काठमाडौंमा वित्याउँछन । पोखरा बस्दा पोखरा चापाकोट क्षेत्रका विद्यालयमा गएर स्वयसेवा गर्छन् । त्योबाहेक विभिन्न संघसंस्थासँग मिलेर गाँउका सामाजिक कार्यमा सक्रिय रहन्छन् । यही क्रममा हो उनलाई नेपाली संगीतप्रति रुचि भएको । काठमाडौंमा रेसम फिलिलि भन्ने गीत सुने, पोखरा घुम्दा मेरी माया भन्ने गीत । एकपछि अर्को नेपाली गीत सुनेपछि उनी पनि गुनगुनाउन थाले । अहिले उनी १० भन्दा बढी नेपाली गीत गाउँछन् । त्यही गीत गाउँदै उनी भिजिट नेपालको प्रचार गर्दै विदेशका सडकमा भेटिन्छन् ।
उनी सबैभन्दा बढीचाँही यो मन त मेरो नेपाली हो भन्ने गीत गाउँछन । ‘मेरो मन नेपाली भइसक्यो, त्यसैले मेरो मन त नेपाली हो भन्ने गीत अत्याधिक मन पर्छ,’ उनी भन्छन्, ‘गीत मात्रै होइन, नेपाली भाषा बोल्ने रहर छ ।’ नेपाल गएको अवसरमा भाषा सिक्ने लक्ष्य उनको छ । नेपाली भाषा सिक्ने मात्रै होइन, नेपाली हुन चाहान्छन् । ‘कानुनी रुपमै नेपाली हुने ठुलो धोका छ,’ उनले भने, ‘नेपालले मलाई नागरिकता दिने हो भने सबै कुरा त्यागेर नेपाली नागरिकता लिएर नेपालमै बसेर नेपालको लागि केही गर्न चाहान्छु ।’ नेपाली संस्कृति, पर्यटन र संगीतको क्षेत्रमा काम गर्ने योजना उनको छ ।
त्यसो त उनी विदेशमा पनि नेपालीसँग मिलेर काम गरिरहेका हुन्छन् । केही सयमअघि ओस्लोमै पनि नेपाली भेला गरेर भिजिट यिअरको प्रचार सक्रिय बनेका थिए । फ्रान्स पुगेर पनि नेपालीसँग मिलेर म्युजिक कार्यक्रम गरेर भ्रमण वर्षको प्रचार गरे । यतिबेला पनि उनी विदेश बस्ने नेपालीसँग मिलेर भ्रमण वर्षको प्रचार गर्न नेपाल सम्बन्धी आप्mनै नेपाली गीतको तयारीमा छन् । भ्रमण वर्षकै प्रचारको लागि विश्व भ्रमणमा निस्कने योजनामा पनि छन् ।

ओस्लोमा हुने नेपाली समुदायको कुनै कार्यक्रममा छुट्दैनन । नेपाली पर्वलाई पनि नेपाली संस्कृतिअनुरुप नै मनाउँछन । नेपाली कार्यक्रम र पर्व मनाउँदा गर्वको साथ सामाजिक संजालमा प्रचार गर्छन । केही हप्ताअघि भारतले नेपालको नक्सा मिचेको भन्दै ओस्लोमा नेपालीहरुले भारतविरुद्ध विरोद्धसभाको आयोजना गरेका थिए । उक्त कार्यक्रममा भारतलाई शान्तीपुर्वक रुपमा मिचेको जमिन फिर्ता गर्न अनुरोध गरेको पर्चा बोकेर नेपाली ढाकाटोपीमा उभिएका थिए उनी । त्यो उनको तस्विरले नेपाली समुदायको सामाजिक संजालमा खुबै चर्चा भयो ।

सामाजिक संजालमा नेपालबारे सार्वजनिक गरेका उनका यस्तै तस्बिरले उनलाई सामाजिक संजालमार्फत नेपाललाई किन मन पराउनुहुन्छ भनेर धेरैले सोध्ने गर्छन । उनलाईचाँही यो प्रश्नको जवाफ दिनै गाह्रो लाग्छ । किनकी, नेपाल सबै कुराले स्वर्ग जस्तो लाग्ने र नेपाली संस्कृति तथा मान्छेको हरेका व्यवहार मन पर्ने उनी बताउँछन् । ‘नेपाल जस्तो देश अरु छ जस्तो लाग्दैन्,’ उनले भने, ‘म नेपालमा जन्मिन नपाएकोमा बेखुसी छु ।’ तैपनि ढिलोचाँडो नेपालसँग जोडिन पाएकोमा भने उनी मख्ख छन् ।
नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउँदैछ । नेपालको यो महाअभियानलाई सहयोग गर्नपर्ने ठानेरै उनी विदेशका सडकमा गीत गाउन बस्छन् । यसरी गीत गाउँदा नेपालको पर्यटन प्रचारसँगै आफ्नो आत्माविश्वास बढ्ने उनको विश्वास छ ।

विदेशीले नेपाली गीत नबुझेपनि म्युजिकले मन्ध भएर उनको वरीपरी झुमिन्छन् । नेपालबारे चासो राख्छन् । अनी उनी तिनिहरुलाई नेपालबारे बुझाएर पठाउँछन । नेपालबारे बुझेपछि भने तिनिहरु नेपाल जान इच्छुक हुने गरेको उनले बताए ।
उनी पनि भ्रमण वर्षको शुरुमै नेपाल जाने तयारीको लागि भिसाको पर्खाइमा छन् । यसअघि पर्यटक भिसामा जाने उनले यसपटक विजनेस (म्युजिसियन) भिजा अप्लाइ गरेका छन् । यस पटक नेपाल गएर भ्रमण वर्षको प्रचारसँगै अन्य कामहरु गर्ने योजनामा पनि उनी छन् । ‘नेपालले मेरो जीवन परिवर्तन गरिदिएको छ,’ उनले भने, ‘त्यसैले नेपालमा केही योगदान गर्नको लागि मैले नेपालको लागि धेरै गर्नपर्ने जिम्मेवारी छ ।’ पेसाले ग्राफिक्स डिजाइनर उनको आजकालको समय म्युजिक र नेपालबारे केही काम गर्ने योजना बनाउँदै वित्ने गरेको उनी बताउँछन् ।