१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बालुवाटारको विवादित जग्गा विप्लव समूहद्वारा कब्जा

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार १५:४१

काठमाडौँ। विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । ललिता निवासको राष्ट्रियकरण भैसकेको जग्गा भूमाफियाहरुको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको सो पार्टीको भनाइ छ ।

ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, अन्य भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परी राज्य संचालकहरुले सुवर्णशमशेर राणाको सन्तानबाट नक्कली मोही सिर्जना गरी व्यक्तिको नाममा गरिएको उल्लेख छ ।

विप्लव समूहले मिनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो । विप्लव समूहले सो कब्जा गरिएको जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारबाही गर्ने चेतावनी पनि दिएको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।