August 11, 2020
11:05 PM | 3:50 AM

प्राकृतिक विपत्तिबाट जोगिन प्रधानमन्त्रीकाे आह्वान

  16/01/2020 मा प्रकाशित

बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै भूकम्पको जोखिममा रहेको नेपालजस्तो भूभागमा प्राकृतिक विपद्ले हुन सक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले नेपाली सबैलाई त्यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

“हामीले राज्य संरचनाका अङ्गहरुमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर मात्र पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउन जरुरी छ, त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौँ”, प्रधानमन्त्री ओलीद्वारा आज जारी सन्देशमा भनिएको छ।

उनले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा त्यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको प्रष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले यतिखेर सरकार भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको र गोरखा भूकम्पबाट पुगेको क्षतिलाई सरकारले पुनःनिर्माण गरी निष्कर्ष नजीक पुर्याएको उल्लेख गरे। भूकम्पले ध्वस्त जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमीनबाट उठाएर नवनिर्माणको सुखद् तस्वीरमा बदलेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया