६ चैत्र २०८०, मंगलवार
Follow Us

‘एनआरएनए यूकेमा चार करोड रुपैयाँको हिसाव गोलमाल’

नेपालब्रिटेन डट कम्
२ माघ २०७६, बिहीबार ०४:३०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा झन्डै चार करोड रुपैयाँको हिसाबकिताब गोलमाल भएको छ । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई हिसाब बुझाउन आनाकानी गरेपछि संघको नाममा संकलित करिब २ लाख ९३ हजार पाउन्ड (झन्डै ४ करोड रुपैयाँ) गोलमाल भएको आशंका गरिएको छ । नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ५ महिना बितिसक्दा पनि पुरानो कार्यसमितिले अहिलेसम्म हरहिसाब बुझाएको छैन ।

संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी कार्यसमितिले हालसम्म बरबुजारत नगर्दा सो रकम कहाँ खर्च भयो भन्ने विषयमा वर्तमान कार्यसमिति बेखवर बनेको हो । स्रोतका अनुसार तत्कालीन अध्यक्ष फगामी र महासचिव राजकुमार त्रिपाठीले आफ्नो आर्थिक तथा भौतिक सम्पतिको विवरण संघमा अझैसम्म बुझाएका छैन् ।
संघको डिसेम्बर ८ तारिख सम्पन्न बैठकमा उपस्थित भएका निवर्तमान अध्यक्ष फगामीले आर्थिक तथा भौतिक विवरण बुझाउने मौखिम जानकारी दिएर उम्कने प्रयास गरेका थिए । महासचिव त्रिपाठीले भने संघको महाधिवेशन नै बहिस्कार गरेका थिए ।

संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार नयाँ कार्यसमितिले दुईवटा माइनोट बुकबाहेक अरु केही बुझेको छैन् । ‘पछिल्लो बैठकमा निवर्तमान अध्यक्षजी र एकजना सचिव आउनु भयो, हाम्रो हातमा दुईवटा माइनोट बुक राख्दिनुभयो, पुरानो कार्यसमितिबाट हामीले पाएकोे त्यत्ति हो’ महासचिव भट्टराईले भने ।

पूर्वकार्यसमितिका सदस्यको विवरण, अनलाइन लगिन डिटेललगायत संस्थाका जिन्सी समानसमेत हस्तान्तरण भएको छैन् । बरबुजारथका सम्वन्धमा जानकारी लिन संघका निवर्तमान महासचिव राजकुमार त्रिपाठीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
भट्टराईका अनुसार बरबुजारत भएको भन्ने मान्ने तर आर्थिक तथा जिन्सीको हिसाव कितावपछि बुझाउने भन्दै फगामीले बरबुजारत गरेको भन्दै अध्यक्ष पुनम गुरुङसँग फोटो खिचाएका थिए ।
फगामीको कार्यसमितिले पछिल्लो कार्यसमितिबाट बुझेको ३९ हजार, नेपाल हाउसको ४३ हजार, सदस्यता शुल्कबाट जम्मा भएको १ लाख ३६ हजार, उम्मेदवारी शुल्कवापत उठेको ७३ हजार पाउण्ड गरी जम्मा २ लाख ९१ हजार पाउन्ड (४ करोड भन्दा बढी रुपैयाँ) को विलभरपाई तथा हिसावकिताब बुझाएको छैन् । सो रकम फगामीको २० महिने कार्यकालमा खर्च गरिएको हो ।
स्रोतका अनुसार गत सेप्टेम्वर महिनामा सम्पन्न संघको निर्वाचनमा अत्याधिक मात्रामा संस्थाको पैसा खर्च गरिएको छ । स्रोतले भन्यो सदस्यता शुल्कवापत उठेको करिब १ लाख पाउन्ड बैंक दाखिला नगरी सिधै नगद बाढेर सकिएको थियो । पुरानो कार्यसमितिले नेपाल हाउसको ४३ जहार पाउन्डबाहेक सम्पूर्ण रकम खर्चिएर बाँकी २६ हजार पाउन्ड घाटा देखाएर विवरण बुझाउने प्रयास गरेको थियो ।


तत्कालिन कोषाध्यक्ष सचिन श्रेष्ठले डिसेम्बर महिनाको दोस्रो साता एक दुई हप्तामा पूर्ण विवरण सार्वजानिक हुने बताएका थिए । उनले सबै हिसाव किताव तयारी अवस्थामा रहेको छिट्टै सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने दाबी गरेका थिए ।
संघका १३ हजार ६ सय जनाको व्यक्तिगत विवरण पुरानै कार्यसमितिले गुपचुप पारेको छ । एनआरएनए युकेको पञ्जिकृत सदस्यतको विवरणको केन्द्रीय सिस्टम (एमआइएस) मा अध्यावधिक गर्न आग्रह गरिएको थियो । पुरानो कार्यसमितिले विवरण दिन इन्कार गरेपछि अहिलेसम्म केन्द्रमा नपठाएको एनआरएन युकेले जनाएको छ ।

महासचिव भट्टराईका अनुसार पुरानो कार्यसमितिले ५ महिना बितिसक्दा पनि संघको बैंक खाता नयाँ कार्यसमितिलाई बुझाएको छैन् । अहिले पुरानै खाता सञ्चालनमा छ ।
स्रोतका अनुसार पुरानो कार्यसमितिले डेटा नदिएका कारणले संघ पञ्जिकृत सदस्यहरु संघको परिचयपत्र र परिचयपत्रबाट पाइने सुविधाबाट बञ्चित हुने भएका छन् ।

एनआरएनए (आइसीसी) ले आगामी एक महिनाभित्र सबै पञ्जिकृत सदस्यका लागि डिजिटल परिचयपत्रको व्यवस्था गर्ने तयारी गरेको छ । यसको लागि एनआरएनए युकेका सबै सदस्यको विवरण केन्द्रीय सिस्टममा अनिवार्य मिलान गर्नुपर्ने हुन्छ ।

एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोकाका अनुसार आगामी आइतबार हुने संघको कार्यसमिति बैठकमा निवर्तमान कार्यसमितिले सम्पूर्ण विवरण लिएर आउने बचन दिएको छ । ‘उहाँहरुले सबै दिन्छौ भन्नु भएको छ, के कति आउने हो हेर्ने बाँकी छ, रोकाले नेपालब्रिटेन डट कमसंग भने, दुईवटा बैठक सम्पन्न भए, उहाँहरुले प्रष्ट हिसाव देखाउन सक्नु भएन । पछिल्लो बैठकमा २६ हजार घाटासहितको डामाडोल हिसाब लिएर आउनु भएको थियो । हामीले बुझेका छैनौं ।’

रोकाका अनुसार पुरानो कार्यसमितिबाट २ लाख ९३ हजार पाउण्डको बिल भरपाइ बुझेपछि एक स्वतन्त्र लेखा परीक्षकमार्फत् सम्पूर्ण विवरण सार्वजनिक गर्ने एनआरएनए युकेको तयारी रहेको बुझिएको छ ।