११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वराजा ज्ञानेन्द्रको रहस्यम चीन भ्रमण

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार ०६:०३

काठमाडौं । अघिल्लो बुधबार सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला कहाँ छन् ? भन्नेबारे सरकार अनभिज्ञ छ । तर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पूर्वराजा शाह सिंगापुरबाटै गत मंगलबार चीन भ्रमणमा गएको र चिनियाँ सेनासँग कुराकानी गरेको सूचना आफूले पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने पूर्वराजा शाह सिंगापुरबाट निस्केको भन्नेसम्मको सूचना आफूले पाएको, तर मलेसिया गएका छन् वा चीन ? भन्ने विषयमा भने आफूले थाहा पाउन नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले पाएको त्यो सूचना पनि सरकारी संयन्त्रबाट नभएर राप्रपाका एक सांसदबाट पाएको आभास उनले दिएका थिए ।
पूर्वराजा शाह व्यापारी मात्रै होइन, भ्रमणको सौखिन पनि भएका कारण उनको भ्रमणलाई राजनीतिसँग मात्रै जोडेर हेर्न नहुने कतिपयको भनाइ छ । संविधान निर्माणमा सहयोग पु¥याएको चीनले पूर्वराजा शाहलाई रेड कार्पेट बिछ्याएर स्वागत गरेको वा चिनियाँ सैनिक अफिसरसँग पूर्वराजा शाहले भेटघाटको अवसर पाएको भन्ने एमाले अध्यक्ष ओलीको सूचनामा कति सत्यता छ ? त्यसको पुष्टि हुन सकेको छैन । तर बुहारी हिमानीलाई दिल्ली पठाएर उनले सिंगापुर छाडेको समाचार भने राजावादीबाटै प्रवाह हुँदै आएको छ ।
जंगलको भ्रमणमा सौखिन शाह मलेसिया पुगेको अनुमान धेरैको छ । तर राजावादीहरूले भने यतिबेला शाह चीनको राजधानी बेइजिङमै रहेको दाबी गरेका छन् । राप्रपा केन्द्रीय सदस्य महेश्वर रोकायले भने, ‘पूर्वराजा शाह चीन गएको कुरा सत्य हो, तर उनले क–कसलाई भेटे भन्ने पुष्टि हुनसकेको छैन ।’ पूर्वपञ्चहरूको पार्टी राप्रपा एकीकरण भएको अवस्थाबाहेक पूर्वराजा शाहका लागि यतिबेलासम्म अनुकूल परिस्थिति बनिसकेको छैन ।