१२ बैशाख २०८१, बुधबार
Follow Us

रेखाको फिल्ममा सौगात र दयाहाङ

sarusaru
२ माघ २०७६, बिहीबार ०९:२५

अभिनेत्री रेखा थापाले नयाँ फिल्ममा अभिनेता द्वय सौगात मल्ल र दयाहाङ राईलाई अनुबन्ध गरेकी छन् । माघे संक्रान्तिको शुभकामना दिँदै उनले यो कुराको खुलासा गरेकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने तय नभएको रेखाले बताइन् । फिल्ममा उनको पनि अभिनय रहनेछ ।

यसअघि रेखाले रेनशा वान्तवा राईलाई निर्देशनको जिम्मेवारी दिँदै नयाँ फिल्मको घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको फिल्म ‘आइ एम ट्वान्टिवान’ मा व्यस्त हुने भएपछि रेखाले सविरसँगको प्रोजेक्ट अगाडि निर्माण गर्न लागेकी हुन् । रेनशासँगको फिल्म अर्को वर्षको मध्यतिर निर्माण हुने उनले बताइन् । रेखाले पछिल्लो पटक फिल्म ‘मालिका’ बनाएकी थिइन् ।

सौगात र दयाहाङसँग टिमअप भएको फिल्म विषय प्रधान हुने अभिनेत्री रेखाले जानकारी दिइन् । उनले भनिन्, ‘मैले निर्माण र अभिनय गर्ने प्रायः फिल्म विषय प्रधान हुने गरेका छन् । यो फिल्म पनि विषय प्रधान नै हुनेछ । यसपटक सौगात र दयाहाङजस्ता कलाकारसँग स्क्रिन साझेदारी गर्दैछु । दर्शकले केही नयाँ कुरा पाउनुहुनेछ ।’ उनी फिल्मलाई लिएर उत्साहित रहेको बताउँछन् ।

एक्सन प्रधान बताइएको फिल्मको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । रेखाले फिल्मको कथाले नै सौगात र दयाहाङ खोजेको बताइन् । ‘फिल्मको लाइनअप बलियो बनाउन उहाँहरुलाई रोजेका होइनौं । कथावस्तुले नै उहाँहरुलाई मागेको हो,’ उनले भनिन् । उनले यसअघि दयाहाङसँग फिल्म ‘नीरफूल’ मा काम गरे पनि सौगातसँग पहिलो पटक काम गर्न लागेकी हुन् ।
फिल्मीखबर