४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अस्ट्रेलियाको खातामा ३ करोड (आर्थिक प्रतिवेदन सहित)

नेपालब्रिटेन डट कम्
३ माघ २०७६, शुक्रबार ०७:४६

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना दुई महत्वपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल र जनवरी पहिलो हप्ता, भिजिट नेपाल २०२० लाई सहयोग गर्न बनेको अभियान टिमका संयोजक खेम शर्माको रिपोर्ट सार्वजनिक गरिएको हो ।

कोषाध्यक्ष पोखरेलको त्रैमासिक रिपोर्टअनुसार अहिले एनआरएन अस्ट्रेलियाको खातामा तीन लाख २७ हजार डलर रकम छ, जुन झण्डै तीन करोड नेपाली रुपैयाँ हाराहारीमा हो ।

पछिल्लो तीन महिनामा झन्डै ४४ हजार आय र ९४ हजार खर्च भएको देखिन्छ, जसअनुसार झन्डै ५० हजार डलर पछिल्लो तीन महिनामा खर्च भएको छ । रिपोर्टमा डढेलो नियन्त्रणमा सहयोग गर्न एनआरएन अस्ट्रेलियाले गरेको आह्वानमा ३६९ जनाले सहयोग गरेका छन् । एनआरएन अस्ट्रेलियाले २० हजार रकम डढेलो नियन्त्रणमा खटेका अग्नि नियन्त्रकहरुलाई सहयोग गरेको थियो ।

यसैगरी गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले भिजिट नेपाल २०२० लाई सहयोग गर्न नेपाल पठाएको अभियान टिमका संयोजक शर्माको रिपोर्टले यदि यो वर्षभरि एनआरएन अस्ट्रेलियाले बनाएजस्तै टिमहरु बनाएर नेपाल पठाउने हो विश्वभर छरिएका नेपालीहरुबाट मात्रै ८० अर्ब बराबरको कारोबार हुने बताइएको छ ।

रिपोर्टमा जम्मा १० बुँदामा भ्रमणको निष्कर्ष समेटिएको छ । सबैभन्दा रोचक निष्कर्ष त यो छ कि यदि यस्तै अभियान यो वर्षभरि मात्रै गैरआवासीय नेपाली संघ सन्जाल भएको ८२ देशमा फैलियो भने कम्तिमा ८२ वटा अभियान टिम बन्ने र, यस्तै नमूना ३ काम मात्रै गर्दा नेपालमा २४६ वटा नमूना काम हुने बताइएको छ ।

संसारभरका झन्डै ८० देशमा प्रत्येकमा ५० नेपाली संस्था भएको अनुपातमा जम्मा ४ हजार १०० नेपाली संस्था हुनसक्ने अनुमान गर्दै एक वर्षको योजना बनाएर प्रत्येक संघ संस्थाले नेपाली र आफ्ना विदेशी मित्रहरु गरी १०० जना नेपाल जाने तथा यस्तै नमूना कामहरु गर्ने हो भने ४ लाखभन्दा बढी पर्यटक एक वर्षभित्रै भित्रिने उक्त रिपोर्टले अनुमान गरेको छ ।